Logo

अविलम्ब क्रियाशिल नामावली सार्वजनिक गर्नुपर्छ, महाधिवेशनको अधिकार कुण्ठित गर्ने काम भयो : रमेश धमला



काठमाडौं, १० भदौ । नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले क्रियाशिल सदस्यता सार्वजनिक गर्नुपर्ने माग गरे । आफूहरु पार्टीको हितमा नै केन्द्रित भएर लागेको पनि उनको स्पष्टोक्ति थियो । उने भने,‘जिल्लाबाट सिफारिश भएअनुसार क्रियाशिल सदस्यता सार्वजनिक गर्नुपर्छ । वैधानिक दृष्टिकोणमा कांग्रेस अप्ठ्यारोमा छ । यो विषय आम कार्यकर्ताको बीचमा उठेको छ । हामी पार्टी जोगाउन चाहन्छौं । यो पार्टी नेतृत्वमा रहनेहरुको मात्रै होईन । यो पार्टीलाई आशाको केन्द्र बनाउनुपर्छ । यो अभियानमा काम गरेका छौं ।’

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीको आन्तरिक लोकतन्त्रको दृष्टिकोणमा पनि कांग्रेस सक्षम, योग्य र जनताले भरोसा गर्न योग्य बनाउन आफूहरु लागिपरेको बताए । उनले भने,‘नेतृत्वले अहिले हाम्रो महाधिवेशनको अधिकार कुण्ठित गर्नुभयो । विधानको व्यवस्था खारेजी गर्नुभयो । बाध्य भएर रिले अनशनमा बसेका छौं । नेताहरुसँग हाम्रो समस्या समाधान गर्ने सामथ्र्य छ । उहाँहरुले छिटोभन्दा छिटो समाधान गर्नुहोला । क्रियाशिल सदस्यता नेतृत्वले टुँगो लगायो भन्ने कुरा पनि आयो, तर नीति, सिद्धान्त र विचारमा सहमति गर्दैमा हुँदैन् । छिाटोभन्दा छिटो क्रियाशिल सार्वजनिक गर्दै निर्वाचनमा जान पाउँ । हामी अधिवेशन चाहने पक्षधर हो । समयभित्रै महाधिवेशन गर्न पनि चाहन्छौं । अविलम्ब मतदाता सार्वजनिक गर्नुपर्छ । छुटेको भए हामी नाम राख्छौं । कतै १८ गते सुरु गर्ने अनि कतै विवाद भयो भने यसले राम्रो सन्देश जाँदैन् । र, यसले पार्टीलाई पनि राम्रो गर्दैन् ।’

बुधबारबाट २४ घण्टे रिले अनसन सुरु गरेका कांग्रेस जिल्ला सभापतिहरुको अनसन आज पनि जारी छ । उनीहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने लगायत तिन बुँदे माग राख्दै अनसन सुरु गरेका हुन्। कांग्रेसले वडा अधिवेशन भदौ १८ मा गर्ने भनेतापनि अहिलेसम्म क्रियाशील विवरण सार्वजनिक गर्न सकेको छैन् ।

 



प्रतिक्रिया दिनुहोस्