Logo

समय



दीपक भण्डारी : मलाई सारै मन पर्छ ¬– गायक जगजित सिंह । उनको त्यो गीत – ‘भले छिन् लो मुझसे मेरी जवानी÷मगर मुझ को लौटा दो बचपन का सावन÷वो कागज कि कस्ती वो वारिस का पानी ।’  हामी हाम्रो जीवनलाई यति व्यर्थको निहित स्वार्थलाई प्राथमिकतामा राखेर समय खर्चिएका छौँ कि यो गीतमा जस्तै हामी समय ढल्किसकेपछि बितेको समयको महत्त्व बुझी विगतमा फर्कने कल्पना गर्छौं जो असम्भव छ ।

समय के हो ? मलाई गुरुहरूले भन्नुहुन्थ्यो – समयमा सबै काम गर्नुपर्छ, हरेक चीज समयमै गर्नुपर्छ, समयलाई पर्खन सक्नुपर्छ र समयअनुसार चल्न सक्नुपर्छ । समयको महत्त्व बुझिएन भने हामी आफै पछुताउनुपर्छ । समयतालिका बनाउन स्कुले जीवनबाट मैले सिकेको थिएँ । स्कूलका क्लासहरू पनि समयतालिकामा नै सञ्चालन हुन्थे ।

खाजा खाने समय, खाना खाने समय, पढ्ने समय, यस्तै तरिकाले आफ्नो दैनिकी यस्तै समयतालिकामा व्यतीत हुन्थ्यो तर अझ पनि समयसँगै चल्न जानेको छैन मेरो जीवन । कता कता काम कुराहरूको तालिका मिलाउन नसकेर अल्झिएको हुन्छ । यो महसुस हुँदाहुँदै पनि अल्झिन्छु । समयको गतिमा हिँड्दो हो त आज किन मेरो जीवन त्यो समयको प्रतिक्षा गर्दो हो र ! भन्ने लाग्छ कहिलेकाहिँ । मनको अन्तरकुन्तरले सोच्दो हो मेरो पनि त समय आउला भनेर ! हो सानो हुँदा पनि केही आफूभन्दा ठूलाबडाले केही काम गरेको देख्दा आपूmले पनि काम गर्न आतुर भइन्थ्यो; चाहे पढाइको काम होस् वा अन्य गरिहाल्न मन लाग्थ्यो र धेरैले भन्ने पनि गर्नुहुन्थ्यो, समयलाई पर्खिने धैर्य राख्नुपर्छ । समय सबैको आउँछ । उदाहरणको रूपमा – साईकल चौरमा चलाउन सिक्दा बाटोमा लैजाने हतार, त्यस्तै युवावस्थामा पाइला चाल्दा आफ्नो क्यारियर एकदम उचाइ छोएको हेर्ने हतार, लाइसेन्स पाउने उमेर नपुग्दै गाडी हुँइक्याउने हतार । त्यो समयलाई सम्झिँदा लाग्छ – मान्छे सही समय पर्खिने धीरता राख्न सक्दैन, प्रत्येक काममा हतारिन्छ ।

समय चलायमान छ, उ रोकिन जान्दैन । समय यति बलवान् छ कि उसको गतिलाई कसैले अवरोध खडा गर्न सक्दैन । समय फर्किंदैन पनि, निरन्तर अघि बढ्छ । म यसो विचार गर्छु कसैले हाम्रो मृत्युको समय तोकिदियो भने बल्ल हामी समयको पलपलको मान्यता राख्थ्यौँ होला तर मानिस यति लापर्वाही गर्छ कि ऊ आफ्नो जीवनको निश्चित समय छ भन्ने हेक्का नै राख्दैन । त्यसैले त होला ऊ समयको हेक्का राख्दैन निस्फिक्रीका साथ आफ्नो जीवन व्यतीत गर्छ । कुनै पनि विद्यार्थी नतिजा आएपछि मात्र पछुताउँछ अनि ठूलो प्रश्न तेस्र्याउँछ – समय हुँदा नै तयारी गरेको भए शायद ? हामी बिर्सिदै छौँ, हामी पनि यो जीवनले निम्त्याएका अनेकन ठूला परीक्षाको परीक्षार्थी हौँ भनेर !

म प्रायः हवाईयात्रा गर्दा समयलाई निक्कै ख्याल गर्छु । आकाशमा आफू हुँदा हवाईजहाज अवतरण गर्ने समयको व्यग्रतामा हुन्छु । समय सारै लामो लाग्छ । हामी जीवनका प्राप्त भौतिक उपलब्धिको होडबाजीमा समयले आफूलाई पछाडि छोडेको अनुभूति पनि गर्न सक्दैनौँ । ध्यानमा केन्द्रित भएर बस्दा समयको पलपलको अनुभूति गर्न सकिन्छ र त्यो पल व्यतीत हुन पनि समय लिएको हामी अनुभूति गर्न सक्छौँ तर हामी काममा व्यस्त भएको अवस्थामा त्यो दिन बितेको पनि थाहा पाउँदैनौँ अनि क्रमिक रूपमा वर्ष अनि आफ्नो पूरा जीवन । यसरी हेर्दा समयको पलपल को महत्त्व बुभ्mन सकियो भने जीवन पूरा जिउन सकिन्छ, अन्यथा जीवन व्यतीत भएकै पत्तो हुँदैन । म धेरैलाई हेर्ने गर्छु र स्वयंलाई पनि उमेर ढल्केको पत्तो नै छैन । एउटा प्रसङ्ग जोड्न मन लाग्यो – एक दिन पारिवारिक जमघटमा मैले आफन्त दाइलाई सोध्न पुगेँ – कति वर्ष पुग्नुभयो ? उहाँले सङ्कोच मान्दै भन्नुभयो –पाँच दशक पूरा गरियो । मेरो मुखबाट फ्याट्टै फुत्कियो – पचास ! बाफ रे ! पचास भइसक्नुभयो है !!! अनि आफै हाँस्न पुग्छु मैले पनि चार दशक त पोहोर साल नै काटेको थिएँ नि !

हाम्रो प्रकृतिले पनि हरेक वस्तुलाई समयतालिकामा चल्न सिकाएको छ । रूखमा पालुवा वसन्तऋतुमा नै लाग्छ, ग्रीष्मऋतुमा गर्मी, झरी वर्षायाममा र शिशिरमा जाडो नै पर्छ । मलाई सार्थक लाग्छ, ती गुरुको भनाइ – ‘हरेक चिज समयमै गर्नुपर्छ, समयलाई पर्खन सक्नुपर्छ, समय अनुसार चल्न सक्नुपर्छ ।’ बालकमा देखिने चञ्चलता मलाई सारै मनपर्छ, मलाई भलाद्मी बालक देखियो भने उसमा केही नपुगेजस्तो लाग्छ । समय नै नभई आएको पाकोपना पनि सहज लाग्दो रहेन छ । मैले एउटा सफल र प्रतिष्ठित व्यक्तित्वको अन्तर्वार्ता हेर्ने क्रममा भनेको कुराले मन छोएको थियो – म सफल गायक हुन सकिनँ, हुन त मैले त्यति वेला जुन शैलीको गीत गाएको थिएँ, अहिले खुब चल्छ तर त्यति वेला त्यो समय आएको थिएन, म शायद समयभन्दा अगाडि जान खोजेको रहेँछु, त्यसैले गायकको रूपमा सफल भइनँ ।

हाम्रो पुस्ता र हामीभन्दा पहिलेको पुस्ताले शायद समय अनुसारको परिवर्तन हेर्न र महशुस गर्न पाएनौँ । हाम्रो अस्थिर नेतृत्वले गर्दा, समयको गतिशीलतालाई बुभ्mदै अगाडि बढ्नु त के हाम्रो समाज शून्यगतिमा अल्मलिएको छ अनि कसरी हाम्रो राष्ट्रको गति अगाडि बढ्न सक्छ । समयलाई कैद गर्न त सकिँदैन तर समयलाई सदुपयोग गर्न त पक्कै सकिन्छ । म चिन्तित हुन्छु, हाम्रो नेतृत्व देख्दा, समयको महत्त्व नबुझ्दा अनि हाम्रो समाज, देशले समयलाई धेरै पछाडि छोडेको देख्दा । संसार धेरै अगाडि बढ्यो तर हामी भविष्यको सपना बाँड्दै छौँ तर हिजो बाँडेका भविष्यको सपना पनि कुन देशको कथा बनेको छ ।

हाम्रो समाज भविष्यको सपनामा बाँच्नेभन्दा पनि वर्तमानमा बाँच्न सक्ने समयको पर्खाइमा छ । बाल्यावस्थामा हामी स्कूलमा खेल खेल्दा आफ्नो पालो पर्खिनलाई पनि गाहारो भएर खेलिहाल्नको लागि सारै हतारो गथ्र्यौं, त्यस्तै अहिलेको हाम्रो नेतृत्ववर्ग राज्यसत्तालाई उनीहरूको आफ्नो पेवाको खेल सम्झिएका छन् र पालो मिच्न अनि अर्काको समयसीमासम्म पनि टिक्न नदिन हतारो गर्छन् । हाम्रो नेर्तत्ववर्गमा कता कता बालपनको हठ अझै बाँकी छ । आफ्नो निहित स्वार्थको लागि समय पर्खिन पनि सक्दैनन् तर समाजलाई समयभन्दा धेरै पछाडि धकेल्नुमा आफ्नो नेतृत्वदायी भूमिका के रह्यो भन्नेसम्म थाहा पाउँदैनन् । पशुपतिनाथले रक्षा गरेको हाम्रो देशलाई पशुपतिनाथको कृपाले वर्तमानमा बाँच्नसक्ने समय छिट्टो आओस् यही छ कामना ।

मलाई क्रिकेट हेर्ने रुचि छ । यस खेलमा प्रयोग हुने टाईमिङ्ग भन्ने शब्द आज यो लेख लेखिराख्दा सान्दर्भिक लाग्यो – जसरी उक्त खेलमा छक्का र चौका हुनको लागि बललाई हान्ने टाईमिङ्ग मिल्नु जरुरी छ, त्यसरी नै हाम्रो जीवनको सफलतामा पनि सही समयमा सही निर्णयको उत्तिकै महत्त्व छ । जसरी बललाई छक्का हान्ने दाउमा मिस टाईमिङ्गले बोल्ड आउट भइन्छ, त्यसरी नै समयलाई बुभ्mन नसकी कतिपय गरेका गलत निर्णयले जीवनमा गाडिएका स्टम्पहरूलाई पनि ढलाएर जीवनलाई अवरोध सिर्जना गरिदिन्छ । हामी पनि हाम्रो जीवनमा पनि धेरै चोटी बोल्ड आउट हुन पुगेका छौँ । शायद यो समयको खेल हो ।

जसरी हाम्रो जीवनको पनि निश्चित समय हुन्छ – जन्म र मृत्युबिचको निश्चित समय । त्यसरी नै हाम्रो हरेक क्रियाकलाप र जिम्मेवारीको पनि निश्चित समय हुन्छ । आफूले पाएको समयको सीमारेखाभित्र आफ्नो दायित्त्व पूरा गर्न सकियो भने हामी सफल हुन्छौँ, अन्यथा हामीलाई समयले धेरै पछाडि छोड्छ ।

 



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम