Logo

देउवालाई १४औं महाधिवेशन कठिन, यी नेताबाट चुनौती



काठमाडौं, १० भदौ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई १४औं महाधिवेशन सजिलो नहुने भएको छ । उनलाई पार्टीभित्र ठूलो चुनौती आउन सक्ने देखिदैछ ।

भदौबाट प्रक्रिया सुरु गरी मंसिरमा गर्ने तय भएको महाधिवेशन हुनेमा अझै आशंका छ । क्रियाशील सदस्यता वितरणको विवाद कायमै छ । देउवा इतर समूहका नेताहरु धर्ना दिन थालेका छन् ।

बहुमत संख्याका जिल्ला सभापतिहरु विरोधमा छन् । यसले महाधिवेशन हुनेमा आशंका बढेको छ । तर, महाधिवेशन भदौमा प्रक्रिया सुरु नगर्दा काँग्रेसको वैधानिकतामाथि प्रश्न उठ्ने निश्चितप्रायः छ । यसकारण पनि महाधिवेशन प्रक्रिया सुरु गर्नैपर्ने वाध्यता छ ।

देउवालाई यसपटकको महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुबाट चुनौती बढ्ने निश्चित छ । तर, आफ्नै पक्षमा रहँदै आएका उपसभापति विमलेन्द्र निधिले समेत चुनौती खडा गरेका छन् । निधि सभापतिको उम्मेदवारी घोषणा गर्दै अगाडि बढेका छन् । उनले देउवालाई यसपटक आफूलाई छाड्न भनिसके । निधिले सम्पर्क कार्यालय शुक्रबार उदघाटन गर्दैछन् । यसले तरंग ल्याएको छ ।

देउवालाई अर्को चुनौती पूर्वमहामन्त्री प्रकाशमान सिंहबाट पनि हुनसक्छ । सिंह पनि सभापतिका दाबेदार हुन् । काँग्रेस प्रजातान्त्रिक हुँदा सिंह देउवासँगै थिए । देउवा पक्षका कतिपय नेता कार्यकर्ताको सिंहसँग पनि निकटता छ । अर्कोतर्फ, सिंहको पार्टीमा पकड बलियो छ । उनले पावर सेयरिङको सम्झौता गरेर विरोधी समूहसँग अगाडि बढेमा देउवालाई धक्का पर्न सक्छ ।

कोइराला परिवारका तीन सदस्य महामन्त्री डा. सशांक कोइराला र केन्द्रीय सदस्यहरु सुजाता कोइराला र डा. शेखर कोइराला एकजुट हुन खोज्दैछन् । कोइराला परिवार एकजुट भएर विरुद्धमा प्रस्तुत भए देउवा अप्ठ्यारोमा पर्न सक्छन् । पछिल्लो समय कोइराला परिवार, प्रकाशमान सिंह र विमलेन्द्र निधि एकजुट हुन खोज्दैछन् । यो काँग्रेसको राजनीतिमा तरंग ल्याउने घटना बनेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहलाई एकढिक्का बनाई सभापतिको उम्मेदवार बन्ने रणनीतिमा छन् । यो सम्भव भए देउवालाई निकै ठूलो चुनौती बन्न सक्छ । पौडेल पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि साथ पाउन कोशिश गरिरहेका छन् । देउवाइतर समूह एकढिक्का भएर विमलेन्द्र निधि पनि मिसिएमा देउवाका लागि आगामी महाधिवेशन झन् कठिन बन्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्