Logo

डिप्रेशनमा थिए भीम आचार्यका भाई राम, शव नजिकै विषको बोतल



विराटनगर, ११ भदौ । प्रदेश १ को मुख्यमन्त्री नियुक्ति हुने दिन नै नेकपा एमालेका सचिव भीम आचार्यलाई शोक पर्यो । उनका भाई राम आचार्य इनरुवास्थित घरमै मृत फेला परे । दुःखका घडीमा उनले मुख्यमन्त्रीको सपथ लिए । त्यसपछि भाईको शव हेर्न पुगे ।

राम आचार्य डिप्रेशनको रोगी थिए । औषधी सेवन गर्दै आएका थिए । हरेक महिना विशेष खालको औषधी प्रयोग गर्थे । मधुमेहलगायत रोगले समेत पिरोलेपछि उनी खानपानमा निकै ध्यान दिन्थे । जीवनको अति माया गर्थे ।

निकै लामो दूरीसम्म हिंड्थे । हिंडाईले स्वस्थ बनाउने ठान्थे । उनी प्रायः यातायातको साधन प्रयोग गदैनथिए । डिप्रेशनमा परेका उनी विहानै कोठामा मृत फेला परे ।

एक्लै सुतेका उनलाई विहान उठाउन श्रीमती पुगिन् । प्रायः चाँडै उठ्ने उनी नउठेपछि श्रीमती ढोका खोल्न पुगेकी थिइन् । तर, ढोका नखुलेपछि झ्यालबाट हेर्दा लम्पसार परेका थिए । बोलाउँदा पनि नबोलेपछि छिमेकीलाई डाकियो । उनको शरीर नीलो भइसकेको थियो । कोठामा विष जस्तो गन्हाएको थियो । बोतल पनि भेटियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको पत्ता लागेको छ । तर, अनुसन्धान अन्तिम निष्कर्षमा नपुगिसकेको बुझिएको छ । प्रहरी स्रोतका अनुसार विष सेवनबाट मृत्यु भएको देखिन्छ ।

५६ वर्षीय राम आचार्यका छोराछोरी काठमाडौंमा बस्दै आएका छन् । घरमा उनी र श्रीमती मात्र बस्छन् । डिप्रेशनका अलावा विभिन्न रोगले समातेपछि उनी बढी चिन्ता गर्ने गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्