Logo

अल्बानियाको विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी



११ भदौ: अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ ।प्रधानमन्त्री इडी रामाले सबै विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको बिहीबार जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारी र देशको वर्तमान अवस्थाका कारण यस्तो व्यवस्था गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।शिक्षा, खेलकुद र युवामन्त्री एभिस कुशी र विद्यार्थीहरु सहभागी एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफूसँगै अरूको समेत सुरक्षाका लागि पनि खोप अत्यावश्यक भएकाले खोप लगाउन हेलचेक्र्याइँ गर्न नहुनेमा उनले जोड दिए ।सबै मानिसलाई खोप अनिवार्य गर्नु आवश्यक छ तर क्षेत्रगत रुपमा वर्गीकरण गरेर प्राथमिकता निर्धारण गर्नुपर्दछ,” उनले भने ।खोप लगाउन कसैले चाहने र कसैले नचाहने भन्न नै नपाउने र सरकारले तोकेको समयमा सबैले अनिवार्य रुपमा लगाउनुपर्ने उनले बताए ।

कोरोनाभाइरसको महामारी व्यवस्थापन र विश्लेषणका लागि गठित विज्ञहरुको समूहले बुधबार मात्रै थप प्रतिबन्धात्मक व्यवस्था लागू गर्नु नपर्ने निष्कर्ष निकालेको छ तर दैनिक सङ्क्रमितहरुको सङ्ख्या भने धेरै नै रहेको देखिएको छ ।कोरोनाभाइरसका कारण बिरामी भएर तिरानाका अस्पतालहरुमा भर्ना भएकामध्ये ९५ प्रतिशत बिरामीले खोप नलगाएको पाइएको अधिकारीहरुले जनाएका छन् ।

खोप लगाएर पनि सङ्क्रमित भएकाहरुको सङ्ख्या भने ३२ मात्रै रहेको जनाइएको छ । अल्बानियाका झन्डै छ लाख मानिसले दुवै खोप लगाइसकेका छन् । यो सङ्ख्या देशको झन्डै २७ प्रतिशत रहेको स्वास्थ्यमन्त्री ओगेर्था मानास्तीर्लिउले जानकारी दिए ।अल्बानियामा अहिले कोरोनाभाइरसविरुद्धको खोप चरण चरणमा लगाउने अभियान चलिरहेको छ । आगामी सेप्टेम्बरमा १८ वर्ष पूरा भएका सबैलाई खोप लगाउने व्यवस्था गर्न लागिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४४ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या एक लाख ४१ हजार ३६५ पुगेको छ । तीमध्ये एक लाख ३१ हजार ८१२ जना सङ्क्रमणमुक्त भएका छन् भने अरू दुई हजार ४८३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्