Logo

केपी ओली र महन्थ-महतो समूह प्रतिगमनको उत्तराधिकारी : उपेन्द्र यादव



काठमाण्डौ ११, भाद्र । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ-महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन । जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली-ठाकुर समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकोले उनीहरु सत्ताच्यूत भएर जनतामा नांगिएको टिप्पणी गरे ।

यादवले भने, ‘पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका थिए र ठाकुर-महतो बेदानन्द झा बन्न खोजेको तर परिवर्तन विरोधी उनीहरुको कदमलाई हामीले विफल पारिदियौं ।’

संघीय गणतन्त्र र समावेशीकरणसहित आन्दोलनका उपलब्धिहरुको रक्षा जसपाले मात्र गर्न सक्ने दाबी गर्दै उनले आगामी निर्वाचनमा जसपा बलियो वैकल्पिक शक्तिको रुपमा उदय हुने विश्वास व्यक्त गरे । महन्थ-महतोको सांसद पद आफूहरुले जोगाईदिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, ‘हामीले चाहेको भए केन्द्रदेखि प्रदेशसम्म कारबाही गरेर उनीहरुको सांसद पद खोस्न सकथेम । तर हामीले केही गरेनौ ।’

अध्यक्ष यादवले जसपालाई समाजवादको केन्द्र बताएका छन । ‘समाजवादी भनेर कसैले नाम, नीति वा एजेन्डा बोकेपनि नेपालमा समाजवादको केन्द्र जसपा नै हो’- उनले भने ।  जसपा अध्यक्ष यादवले प्रदेश २ मुख्यमंत्री र मन्त्रीहरुलाई जनहितको कामलाई प्राथमिकता दिन कड़ा निर्देशन दिएका छन । उनले भने, ‘तपाईहरु जनताको काममा समर्पित भएर अन्य प्रदेश भन्दा फरक तर उदाहरणीय बनेर देखाउनुस ।’

सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार प्रदेश २ अन्तर्गत जनकपुरमा शीर्ष नेतृत्व सहभागी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । कार्यक्रममा जसपा पार्टी अध्यक्ष यादवसहित वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायतको उपस्थिति थियो ।

पार्टी सुदृढीकरण, संगठन विस्तार एवं जनजागरण (सुज) अभियान आज जनकपुरमा आयोजित प्रदेश स्तरीय कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पार्टी अगुवा नेतृत्वको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्