Logo

गौरा पर्वको दोस्रो दिन ‘नानी गौरा’



बैतडी, १२ भदौ: चार दिनसम्म मनाइने सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएकोे छ । दोस्रो दिन आज ‘नानी गौरा’ मा ब्रतालु महिलाले हिजो भिजाएका बिरुडा (पाँच प्रकारका अन्न)लाई नजिकका धारा, तलाउमा लगेर धुने गर्छन् । सवाँ, अपामार्गलगायत वनस्पति प्रयोग गरेर नुहाउनाका साथै गौराको प्रतिमूर्ति बनाइ नजिकका पानीका मुहान, धारा तथा तलाउमा पूजाआजा गर्ने गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटका गोल्मा भाटले बताए ।

बिरुडा पञ्चमीका दिन भिजाइएका बिरुडाले गौराको पूजा गरिनाका साथै बारीमा फलेका विभिन्न फलफूल पनि गौरादेवीमा चढाउने प्रचलन रही आएको छ । आज दिउँसो गौरादेवीको पूजा गरेपछि ब्रतालु महिलाले साँझपख मीठोमसिनो खाएर बिरुडा र फलफूलसहितको सगुन फाग गाउँछन् ।

पौराणिककालमा गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवलाई स्वामी बनाउन सफल हुनुभएकीले त्यसै बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झना स्वरूप यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले बताए ।

दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो । भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याइनाका साथै महिलाले धारणा गर्ने विशेष प्रकारको धागो समर्पण गर्ने र अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ ।

तागाधारी पुरुषले जनै धारण गरेजस्तै महिलाले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । गौराका समयमा सामूहिकरुपमा देउडा, ठाडो खेल, ढुस्को, धमारीलगायत सांस्कृतिक खेल खेलिने गरिएकामा कोरोना भाइरसका कारण सामूहिकरुपमा जमघट नहुँदा गौराको रौनक नै नभएको स्थानीयले बताएका छन् ।-रासस



प्रतिक्रिया दिनुहोस्