Logo

प्रचण्डको टिप्पणी : केपी ओलीको त खाली प्रधानमन्त्री प्राप्ती गर्नको लागि हामीसँग एकताको ठगी धन्दा रहेछ (भिडिओसहित)



काठमाडौं, १२ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीले ढाँट÷छलको राजनीति गरेको आरोप लगाएका छन् । उनले आफूहरुले जनयुद्ध गर्दा पनि यो खालको राजनीति नभएको स्मरण गराए । वाईसिएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हामी त जे बोलेको छ, त्यही बुझ्ने परियो । खासगरी एमालेको त्यसमा पनि केपी ओली प्रवृत्ति के हो भने भन्ने एउटा अनि गर्ने ठीक उल्टो, म भ्रष्टाचार गर्दिन् र गर्न पनि दिन्न, कति राम्रो स्टेटमेन्ट, यो भन्दा राम्रो स्टेटमेन्ट, मैले त केपी ओलीलाई कति राम्रो भनें, तर उहाँले के को निम्ति भनेको भने भ्रष्टाचारलाई छोप्नको लागि, उहाँको बानी त्यो हो ।’

कतिपय आफन्ै नेता तथा कार्यकर्ताहरुलाई पनि एमालेसँग एकता गरेर प्रचण्डले बेकार गर्यो भन्ने लागेको पनि स्मरण गराए । उनले भने,‘एमालेसँग एकता गरेर मैले गल्ती गरेको थिएँ भन्ने लागेको छैन् । एकता गर्ने बेलामा विचार, राजनीति नमिलाईकन गर्यो भन्ने कतिपय साथीहरुलाई लागेको छ, तपाईँहरुले राजनीतिक प्रतिवेदन र विधान हेर्नुभयो भने केपी ओली र मैले दुवैले सही गरेका छौं । माओवादी जनयुद्धदेखि संघीय लोकतान्त्रिक गणतन्त्र बनाउनसम्म मुख्य भूमिका खेलेको हो भनेर केपी ओलीले सही गरेका छन् ।’

उनले अध्यक्ष र प्रधानमन्त्री दुवै पालो पालो भनेर पनि ओलीले सही गरेको दाहालले स्मरण गराए । उनले भने,‘हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो, केपी ओलीको त खाली प्रधानमन्त्री प्राप्ती गर्नको लागि ठगी धन्दा रहेछ, हामीले उनको ठगी धन्दा, तमसुकमा सही गरेपछि हुन्छ भनि ठान्यौं क्या हामीले, हामी कागज हेरेर बस्यौं, उनले प्रधानमन्त्री पड्काएको पड्काई पारे । अस्ति चाहीँ शेरबहादुर देउवाजीको घरमा गठबन्धनको मिटिङमा हामी सबै जना थियौं, मलाई देउवा र माधवजीले ओलीसँग एकता गरेर के पाउनुभयो भन्नुभयो, मैले भने ज्ञान प्राप्त गरेर आएँ । यो ज्ञान अब कांग्रेस र माधवलाई पनि काम लाग्छ भनेको थिएँ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

 



प्रतिक्रिया दिनुहोस्