Logo

सुकुम्बासीको नाममा भूमाफियाको चलखेल



इटहरीं, भदौ १३। सप्तकोसी नदीले धार परिर्वतन गरी पूर्वतर्फ बग्दा उकास हुन आएको आठ हजार हेक्टर अर्थात् १२ हजार बिघा जमिन सुकुम्बासीका नाममा भूमाफियाबाट अतिक्रमण भएको छ । जग्गा अतिक्रमणका कारण सो क्षेत्रमा कबुलियत वन बनाउन नेपाल सरकारले गरेको निर्णय कार्यान्वयनमा अन्योल देखिएको छ ।

बेलका नगरपालिकाका प्रमुख दुर्गा थापाका अनुसार, सुनसरी र उदयपुर जिल्लाको सिमानामा रहेको सो जमिनमध्ये सुकुम्बासीको नाममा भूमाफियाको अतिक्रमणको चपेटामा परेको छ । उदयपुरको बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ अन्तर्गत पर्छ । भूमाफियाले जग्गा कब्जा गरेका कारण त्यहाँ रहेको नदी उकास जमिनमध्ये १७६ दशमलव २३ हेक्टरमा कबुलियत वन बनाउने सरकारी निर्णय अन्योलमा परेको स्थानीयको भनाइ छ । मन्त्रिपरिषद्को गत जेठ ६ गतेको बैठकले १७६ दशमलब २३ हेक्टर जमिनमा कबुलियत वन बनाउने निर्णय गरेको थियो । वराह हर्बल सुनसरी र सेफ ले टेक्नोलोजी ललितपुरलाई ३० वर्षका लागि सो जमिन लिजमा दिएको छ । स्थानीय तह, वन कार्यालयलगायतको सिफारिसमा सरकारले सो निर्णय लिएको हो ।

सो क्षेत्रमा कबुलियत वनका रूपमा पर्यापर्यटन, कृषि, जडीबुटी खेती विस्तार, माछा तथा पशुपालनलगायतका कार्य गर्ने योजना रहेको छ । सरकारले कबुलियत वन घोषणा गरेको जमिनमा कुनै पनि सुकुम्बासीको बसोवास नै नरहेको सब–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख सहायक वन अधिकृत सन्नीकुमार झाले बताए। उनका अनुसार, कबुलियत वन घोषणा भएको क्षेत्रमा न त एउटा सुकुम्बासीको बसोवास छ, न त कुनै टहरा नै छ तर केही पहुँचवालाले काम गर्ने मान्छे लगाएर सयौँ बिघा जमिन कब्जा गरेका छन् ।

नगरपालिकाको तथ्याङ्कअनुसार सो जमिन क्षेत्रमा करिब एक हजार तीन सय वास्तविक सुकुम्बासी परिवारको बसोवास रहेको छ । तर, ती वास्तविक सुकुम्बासीभन्दा बाहिरका केही भूमाफिया र पहुँचवाला सीमित व्यक्तिले त्यहाँको सयौँ हेक्टर जमिन कब्जा गरी किनबेचसमेत गर्दै आएको नगरप्रमुख थापाको भनाइ रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्