Logo

तालिवानसँग फाइटर प्लेन, ड्रोन देखि अत्याधुनिक साना हतियारसम्म



एजेन्सी, १३ भदौ । अफगानिस्तानको राजधानी काबुलसमेतमाथि नियन्त्रण कायम गरेपछि तालिवान सँसारको त्यस्तो अतिवादी समूह भएको छ जोसँग हवाई फौज समेत छ । अफगानी सेनाले आत्मसमर्पण गरेपछि तालिवानको नियन्त्रणमा युद्धक हेलिकोप्टर देखि अत्याधुनिक हतियार समेत पुगेको छ ।

अमेरिकाले अफगानी सेनालाई दिएको अत्याधुनिक हतियार पनि तालिवानको कब्जामा पुगेको छ । अमेरिकी पूर्वसैनिक अधिकारी समेत रहेका रिपब्लिक सांसद जिम ब्यांक्सका अनुसार ८५ अर्ब डलर बराबरको अमेरिकी हतियार तालिवानको पहुँचमा पुगेकोछ । जसमध्ये ७५ हजार सैनिक सवारी साधन, २ सय भन्दा बढी विमान र हेलिकोप्टर, ६ लाखभन्दा बढी हतियार छन् ।

तालिवानसँग विश्वका ८५ प्रतिशत देशभन्दा बढी ब्लाक हक हेलिकोप्टर रहेको छ । स्क्यान इगल सैन्य ड्रोन समेत तालिवानको नियन्त्रणमा पुगेको छ ।

सन् २००२ देखि २०१७ का बीच अमेरिकाले अफगानिस्तानको सैनिकका लागि २८ अर्ब डलरको हतियार सहयोग गरेको थियो । जसमध्ये बन्दुक, रकेट, ड्रोन्सलगायत थिए । सन् २००३ देखि २०१६ का बीच अमेरिकाले अफगान फौनलाई २०८ युद्धक विमान र हेलिकोप्टर प्रदान गरेको थियो । यो अमेरिकाको गर्भनमेन्टर एकाउन्टाबिलिटी अफिसको तथ्यांक हो । ५० वटा जति सैन्य विमान अफगान पाइलटहरुले शरण लिदै उज्वेकस्तानमा पुर्याए । काबुलमाथि नियन्त्रण बनाउनु अघि नै तालिवानले पाइलटहरुको हत्याको अभियान नै चलाएका थिए ।

विश्वको शक्तिशाली देशहरुसँग भएको बराबरको हतियार तालिवानको हातमा पुगेको छ । पश्चिमा देशहरुले अनुमान गरेको भन्दा छिटो काबुल कब्जा गरेकाले बढीभन्दा बढी हतियार तालिवानको हातमा पुग्न सक्यो ।

दुश्मनको हतियार कब्जा गर्नु गुरिल्ला रणनीति हो । तालिवानले यही रणनीति अपनाए । उनीहरुले अमेरिकासहित पश्चिमा गुप्तचरको सूचनालाई नै गलत सावित हुने गरी दश दिनभित्रै काबुलमाथि नियन्त्रण कायम गरे ।

अमेरिकी हतियार कब्जा गरेपछि तालिवान सैनिक अत्याधुनिक हतियारसहित काबुलमा देखिन थालेका छन् । उनीहरु एम फो कार्बिन्स र एम १६ राइफल भिरेका देखिन्छन् ।

अमेरिकी सैनिकले अफगानी सेनाका लाग दिएको अत्याधुनिक हतियार तालिवानको हातबाट इस्लामिक अतिवादी समूहको हातमा पुग्ने खतरा समेत बढेको छ । अफगानिस्तानबाट मध्यपूर्व, अफ्रिकी देशका अलावा दक्षिण र दक्षिणपूर्वी एशियाका अतिवादी समूहको हातमा हतियार पुगेमा अशान्ति बढ्न सक्छ ।

तालिवानसँग सैनिक विमान र हेलिकोप्टर उडाउनसक्ने पर्याप्त पाइलटको अभाव छ । अत्याधुनिक हतियार चलाउन सक्ने योद्धाको पनि कमी छ । त्यसकारण पनि हतियारको दुरुपयोग हुन सक्छ ।-Photo Source: Reuters



प्रतिक्रिया दिनुहोस्