Logo

कम्युनिष्ट बिग्रिए भने कुहिएको अण्डाभन्दा बढि बिग्रिन्छ भन्थे, माधव नेपालको त्यही हविगत हुँदैछ : सूर्य थापा (भिडिओसहित)



नेकपा (एमाले) का युवा नेता सूर्य थापाले सभामुख अग्निप्रसाद सापकोटाले संविधानबमोजिम आफ्नो भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । उनले सभामुख सापकोटा र निर्वाचन आयोगको विरुद्धमा आफ्नो पार्टी कानूनी उपचारमा जाने पनि स्पष्ट पारे । शुक्रबार नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सभामुख सापकोटालाई आफ्नो पार्टीले उनको आफ्नो धरातल देखाइदिने कुरा गरेको हो पनि बताए । प्रस्तुत छ नेता थापासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय समिती बैठकले सभामुखविरुद्ध सशक्त रुपमा जाने निर्णय किन ग¥यो ?

सभामुख अग्निप्रसाद सापकोटा गर्नुभएको कामहरु तपाईँलाई थाहा नै छ । नेकपा एमालेले भदौ १ गते नै साउन २५ गतेको केन्द्रीय कमिटीको निर्णयानुसार भनेर १४ जना सांसदहरुलाई पदमुक्त गर्न अनुशानहिन, अराजक, पार्टी बिरोधी काम गरेको भनेर पदमुक्त गर्न भनेको थियो । तर, त्यसको कार्यान्वयन उहाँले आजसम्म गर्नुभएन । निर्वाचन आयोगलाई चाँही पदमुक्त गर्न पत्राचार गरिएको भनेर चिठी पठाउनुभयो । एमालेले पदमुक्त गर्न भनेर भनेको उहाँले स्वीकार गर्नुभयो । तर, उहाँ नेकपा माओवादीको एउटा गुरिल्ला र छापामारका रूपमा सक्रीय रहनुभयो । उहाँ सार्वभौम संसद्को सभामुखको रूपमा भूमिका खेल्नुभएन । त्यो पदको गरिमा र पद अनुसारको आचरण प्रदर्शन देखाउन सक्नुभएन । उहाँ प्रचण्डको मामुली कार्यकर्ताको रुपमा प्रस्तुत हुनुभयो । हाम्रो अध्यक्षले पटक–पटक भन्दै आउनुभएको छ । टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु साह र लेखराज भट्टका हकमा प्रचण्डले चिठी पठाउनेबित्तिकै केन्द्रीय समितीको बैठकबिनै उहाँले संसद्मा उहाँहरुलाई पदमुक्त गरेको पत्र सुनाउनुभयो । तर, नेकपा एमालेले केन्द्रीय कमिटीको निर्णयबमोजिम आफ्ना पार्टीका सांसदबारे गरेको निर्णय उहाँले कार्यान्वयन गर्नुभएन । किन गर्नु भएन ? यो प्रश्न सभामुख अग्निप्रसाद सापकोटासँग हाम्रो पार्टीले कानूनी र सबै खालका उपायहरुको अबलम्बन गर्ने र उहाँलाई आफ्नो धरातल देखाइदिने कुरा गरेको हो ।

त्यसोभए तपाईँहरु सभामुखविरुद्ध महाभियोग लगाउनेतिर लाग्नु भएको हो ?

अहिले त्यता नजानुहोस, अहिले उहाँलाई त्यो निर्णय कार्यान्वयन किन गर्नुभएन ? गर्नुपर्छ भन्ने कुरा हो । त्यसपछि अग्निप्रसाद सापकोटा एउटा डामेर छोडेको साँढेजस्तो भएर गैरकानूनी रूपमा संविधानविपरित मनलाग्दी गर्न पाइन्छ भन्ने त होइन नी । उहाँले राजनीतिक ठगको रूपमा भूमिका खेल्न पाइँदैन भन्ने कुरा हो ।

तपाईँहरु निर्वाचन आयोगको विरुद्ध पनि अदालत जानुहुन्छ त ?

निर्वाचन आयोगले संसद् सचिवालयसँग चिठ्ठी मागेको छ, चिठ्ठी स्विकार गरेको छ, तर नेकपा एमाले र सर्वोच्च अदालतले निश्काषन गरेको मान्छे प्रकाश ज्वालाको पनि गणना गरेको छ । निर्वाचन आयोगको यस निर्णयमा कैफियत छ र यसमा कानूनको उल्लंघन भएको छ । यो विषय कानूनी उपचारको विषय हो । अग्नि सापकोटाले आफुलाई न्यायाधीश सम्झिनुहुँदैन ।

तर तपाईंहरुले ऐन, कानून र मापदण्ड नपुर्याएर सिफरिस गरेका कारणले गर्न सकिएन भन्नुहुन्छ नि त सभामुखले ?

कसलाई भन्नुभयो त्यो ? दाँत दुखेर म बिजोग भएँ भनेर अभिनय गरेर कार्यालय पनि नगएर उहाँ त अहिले बेपत्ता हुनुभएको छ । त्यो सबै गलत हो ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउनको लागि सरकारले महत्वपूर्ण भूमिका खेल्यो, शेरबहादुर देउवा बधाईका पात्र हुनुभयो भनेर माधब नेपालले सार्वजनिक रुपमा बोल्नुभएको छ नि ? तपाईँको प्रतिक्रिया के छ ?

माधव नेपालका बारेमा पनि कुरा गर्ने हो ? पार्टीको एउटा टुक्रा लगेर हिँड्नुभएको छ, नाम भने एकीकृत राख्नुभएको छ । ‘जुन गोरुको सिङ छैन, उसको नाम तिखे’ भनेझैं भयो । उहाँ इतिहासकै कलंकित हुनुभएको छ । एमालेको अभिलेखबाट माधव नेपाल हटिसक्नु भयो । उहाँको बारेमा धेरै कुरा नगरौंं ।

माधव नेपाललाई सरकार, सभामुख र निर्वाचन आयोगले एमाले फुटाउन सञ्जिबनी बुटी दियो होईन ?

आफ्नो सहयोगी, आफ्नो वैशाखीका निम्ति त्यो सबैले गर्छन् । शेरबहादुर देउवाले त्यँही गर्नुभएको हो ।

तर, शेरबहादुर देउवा केपी शर्मा ओलीको पथमा हिँडे भन्छन् नी ?

त्यो कुरा गलत हो । केपी शर्मा आलीले राति संसद् अधिवेशन अन्त्य गरेर भोलिपल्ट अध्यादेश ल्याउनुभएको छैन । उपेन्द्र यादवका सांसदहरुले हामीलाई अफ्ठ्यारो भयो भनेपछि केन्द्रीय समिती र संसदीय दलको ४० प्रतिशत पुर्याउनुपर्ने भन्ने जुन संवैधानिक व्यवस्था थियो, त्यसलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट निर्णय गरेर कानुनसम्मत् रुपमा त्यो अध्यादेश ल्याउनुभएको थियो । तर, सबैको सुझाबअनुसार अध्यादेश फिर्ता भयो र कुनै पार्टी फुटेनन् ।

माधव कुमार नेपालले आफ्नो पार्टीमा नआए अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई सहयोग गर्दैनौं र मुख्यमन्त्रीबाट हटाउँछौं भन्नु भएको छ , अब के हुन्छ ?

उहाँले सहयोग गर्ने/नगर्ने उहाँको व्यक्तिगत कुरा हो । उहाँ त केन्द्र सरकारबाट केपी शर्मा आलीलाई हटाई छाड्ने, लुम्बिनीबाट शंकर पोखरेल र गण्डकीबाट पृथ्वीसुब्बा गुरुङलाई हटाउने माग चार वर्षदेखि गर्नुभयो । हटाएरमात्र छाड्नुभयो । नहटाउदाँसम्म श्वाँस फेर्नुभएन । कम्युनिष्ट बिग्रिए भने कुहिएको अण्डाभन्दा बढी बिग्रिन्छ भन्थे माधव नेपालको त्यही हविगत हुँदैछ । नेकपा एमालेका बहुमत सदस्यले मुख्यमन्त्री बनाएका हुन र उहाँहरुले टिकाउँछन् । त्यहीअनुरुप उहाँहरुले काम गर्नुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्