Logo

बामदेवको माधव नेपालसँग बार्गेनिङ्ग



काठमाडौं, १३ भदौ । नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बामदेव गौतम अझै एमालेमै छन् । उनले सार्वजनिक रुपमै माधव नेपालको पक्षमा जाने बताइसकेका छन् । तर, औपचारिक रुपमा पार्टी परित्याग गरेका छैनन् ।

शेरबहादुर देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा विगतमा बोलेका माधव नेपालले एकता अभियानका आफू पक्षधरसँगको छलफलमा पनि एमाले छाड्ने बताएका थिए । उनले केपी शर्मा ओलीलाई पराजित गरेर छाड्ने भन्दै त्यसपछि मात्र कम्युनिस्ट एकताको ढोका खुल्ने धारणा राखेका थिए । तर, अहिले आएर बामदेव पार्टी छाड्ने ढिलो गर्न थालेका छन् ।

बामदेवले माधव नेपालसँग शक्ति बाँडफाँडको कुरा गरिरहेका छन् । जसमध्ये नेकपा एसमा पद र भूमिका, आफूनिकटस्थले पाउने मन्त्रीको संख्याको विषय छ । गौतम स्वयं उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिन चाहन्छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा उपप्रधानमन्त्री बनाउन चाहिरहेका छैनन् । यसकारण गौतम रोकिने सम्भावना बढेको छ ।

गौतम आफू सरकारमा नगए आफू पक्षधर कम्तिमा २ जनालाई महत्वपूर्ण मन्त्रालय दिने गरी सहमति गर्न खोजिरहेका छन् । यसमा माधव नेपालसँग उनको छलफल चलिरहेको बुझिएको छ । यसलाई कतिपयले बामदेवको माधव नेपालसँगको बार्गेनिङ्गका रुपमा लिन थालेका छन् ।

माधव नेपालको साथमा एमालेबाट नवौं महाधिवेशनमा निर्वाचित कुनैपनि पदाधिकारी छैनन् । यसले पनि उनलाई चुनौती बढेको छ । नेपाल बामदेवलाई पार्टीमा ल्याएर भएपनि प्रतिष्ठा जोगाएर ऊर्जा बढेको सन्देश दिन चाहिरहेका छन् । यसकारण पनि उनको बामदेवसँग सम्झौता हुने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्