Logo

नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सुरु



काठमाडौं, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकले दलको नेतादेखि प्रमुख सचेतक, सचेतकसहित पदाधिकारी चयन गर्ने जनाईएको छ । दलको नेतामा अध्यक्ष माधव कुमार नेपाल चयन हुने बुझिएको छ ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीले गोप्य सहमति नगर्दा पनि अहिलेको राजनीतिक अवस्था सृजना भएको आरोप लगाएका छन् । एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले साविक नेकपाका बेला प्रचण्डसँग भएको आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमतिलाई ओली लत्याउँदा राजनीतिक अस्थिरता सुरु भएको आरोप लगाए ।

दक्षिणपन्थीको इसारामा गुटको राजनीतिक गरेर ओलीले कम्युनिष्ट एकतालाई मात्रै होइन एमालेलाईसमेत जोगाउन नसकेको नेपालको आरोप छ । प्रधानमन्त्रीको कुर्सीमा बसेर गर्न नहुने र बोल्न नहुने अव्यक्ति दिएर ओलीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका उनले चुनावी घोषणा पत्रविपरीत ओली अघि बढेको आरोप दोहोर्‍याए ।

प्रधानमन्त्रीको कुर्सी असुरक्षित भएपछि ओलीले प्रतिनिधि सभा विघटन गरेको नेता नेपालको आरोप लगाए । नेता नेपालले सरकार र पार्टीमा आफ्नो विकल्प नरहेको भन्ने अहम् ओलीले पालेको बताए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्