Logo

शिक्षा राई मृत्यु प्रकरण : ज्यान मुद्धामा प्रहरीले जाहेरी नलिएको गुनासो



खोटाङ, १३ भदौ (रासस) ः हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो बढेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी उनले वर्ष दिनअघि चिचिङ्गाका मनकुमार राईसँग प्रेम विवाह गरेकी थिइन् । उनको मृत्युमा अस्वभाविक भएको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालयमा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिँदा लिन अस्वीकार गरेको गुनासो बढेको हो ।

शिक्षा भदौ ७ गते राति आफ्नै घरमा मृत फेला परेकी थिइन् । सुरुमा कटहरको रुखमा झुण्डिएको भनेर घरपट्टिबाट खबर आएकाले घटनास्थल पुग्दा घरको बरण्डाको कोठमा झुण्डिएको भनिएको, प्रहरी नपुग्दै डोरीबाट शव निकालेर राखिएको, माइती पक्ष नपुग्दै मुचुल्का उठाइएको, मृतकले करिब सात फिट अग्लो बरण्डामा आफैँ डोरी झुण्ड्याउन नभेट्ने तथा डोरी झुण्ड्याउन केही पनि सामान प्रयोग नगरेको पाइएको, डोरीको पासो पनि सुर्के लाग्ने अवस्थामा नभएको, मृतकको नाक र मुखमा रगत बगिरहेको, दाहिने कोखा र देब्रे हातमा निलडामका साथै कोतारिएको देखिएकाले आत्महत्या नभई हत्या भएको पीडित पक्षको जिकिर छ ।

भोलिपल्ट जिल्ला अस्पतालमा शव परीक्षण पछि ९ गते मृतकका काका ज्ञानबहादुर राईले ज्वाइँ मनकुमारविरुद्ध जाहेरी दिँदा दुईपटकसम्म अस्विकार गरेको र तेस्रोपटक आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी दिएर फर्कनुपरेको ठूलोबाबु बयानसिं राईले बताउनुभयो । उजुरी परेसँगै आरोपीलाई प्रहरीले भदौ ९ गते पक्राउ गरेको जनाइएको छ ।

आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा उजुरी दिएर फर्किएका माइतीपक्ष मृतकको शारीरिक अवस्था र घटना प्रकृतिका आधारमा पुनः भदौ १० गते ठूलीआमा पार्वती राईको नामबाट ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिन लाग्दा प्रहरीले नै जाहेरी लिन नसकिने भन्दै फर्काएको काका ज्ञानबहादुरले बताउनुभयो ।

सो घटनामा शनिबार हलेसी न्यूज नेटवर्कको कार्यालयमा पुगेका पीडित पक्षले प्रहरीबाटै घटनामा सम्लग्न दोषीलाई बचाउ गर्न खोजेको आरोप लगाएका थिए । “मृतकको तस्वीर हामीसँग पनि छ । तस्वीर हेर्दा पनि शिक्षाको आत्महत्या होइन, कर्तव्य गरी हत्या गरेको हाम्रो ठहर छ,” काका ज्ञानबहादुरले भन्नुभयो, “तर प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकले नै किन किटानी जाहेरी लिन मान्नु भएन ? किन हामीलाई आत्महत्या दुरुत्साहनमा जाहेरी दिन बाध्य पारियो ? यसले हामीमा शङ्का उत्पन्न गराएको छ ।”

छिमेकीका अनुसार घटनाका दिन पर्म (छिमेकमा आलोपालो गरिने काम) गएकी शिक्षालाई आफन्तले साँझ ८ः३० बजे उनको घर पु¥याएर छाडेको करिब ४५ मिनेटपछि नै झुण्डिएर आत्महत्या गरेको खबर गाउँमा फैलिएको बताइएको छ । जाहेरीमा झमेला भएकै कारण उनको भदौ १० गते मात्र शव परीक्षण गरिएको थियो ।

श्रीमान्ले कुटपिट गरिरहने र परिवारबाट पनि मानसिक तनाव दिने गरेको भन्दै शिक्षाले माइतीपक्षका साथीभाइलाई फेसबुक मेसेञ्जरबाट गुनासो पोख्ने गरेको बताइएको छ । प्रहरीले किटानी जाहेरी लिन नमानेले मृतकका आफन्तको आग्रहमा पूर्व जिविस सभापति विष्णुकुमार राई र बाम्राङका वडाध्यक्ष ललितकुमार राईसमेत जिल्ला प्रहरी कार्यालय जानकारी लिन पुगेका थिए ।

प्रहरी नायब उपरीक्षक उमेश लम्सालले भने शिक्षाका श्रीमान्विरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी नै नआएको र आएमा दर्ता हुने बताउनुभएको छ । “उहाँहरुले आत्महत्या दुरुत्साहनमा जाहेरी दिनुभएको छ । यो पनि किटानी जाहेरी नै हो । शव परीक्षण रिपोर्ट आउँछ, त्यो बेलासम्म पर्खेर अन्य प्रक्रिया अघि बढाऔँ भन्ने सल्लाह भएको छ”, उहाँले भन्नुभयो, “किटानी जाहेरी आएमा दर्ता नगर्ने भन्ने कुरै हुन्न, दर्ता गरेर पठाइदिन्छौँ । आफ्नो क्षेत्राधिकारभित्रको जाहेरीलाई दर्ता गर्नुपर्छ, मिल्दैन भने मिल्दैन भनेर फिर्ता गर्नुपर्छ ।”

शव परीक्षणपछि पनि प्रहरीले आफूहरुलाई फसाउन खोजेको मृतककी आफन्त मीनुकला राईको आरोप थियो। “हाम्रो संस्कारअनुसार पराइघर गएका छोरीचेलीको माइतीमै मृत्युमा पनि घरपट्टिकाले संस्कार गर्नुुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “आफ्नै घरमा शङ्कास्पद मृत्यु भएकी शिक्षाको शव हामीलाई बुझाउन प्रहरीले नै दबाब दिएकामा संस्कारविपरीत गर्न सकिन्न भनेपछि उतै पठाइयो ।”

घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक सागर साह नेतृत्वको टोली भदौ ८ गते घटनास्थल पुगेकामा पीडक पक्षले आर्थिक प्रलोभनमा पारेर कर्तव्य ज्यानसम्बन्धीको घटना मिलाउन खोजेको आफन्तको आरोप छ ।-रासस



प्रतिक्रिया दिनुहोस्