Logo

देउवालाई सभापति जिताउन गठबन्धनका नेताको साथ



काठमाडौं, १३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा विजयी बनाउन सत्ता गठबन्धनका नेताहरुले भित्री रुपमा साथ दिने भएका छन् । देउवालाई चुनाव जित्ने वातावरण निर्माणका लागि उनीहरुले सहयोग गर्ने भएका हुन् ।

सरकार सञ्चालनमा देउवालाई अनुकूल हुने गरी लचिलो हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तयार भएका छन् । उनीहरुले मन्त्रालय बाँडफाँडमा पनि लचकता अपनाउने भएका हुन् ।

देउवाले काँग्रेसभित्र आन्तरिक व्यवस्थापन मन्त्रालय बाँडफाँडमा समेत गर्ने रणनीति बनाएका छन् । महत्वपूर्ण मन्त्रालयहरु देउवाले नै लिने गरी प्रचण्ड र नेपाल सहमत भएका छन् । जमध्ये गृह मन्त्रालय काँग्रेस नेता बालकृष्ण खाँडले पाइसकेका छन् । सञ्चार मन्त्रालयमा पनि देउवानिकटस्थले नै लिने बुझिएको छ । अन्य महत्वपूर्ण मन्त्रालय पनि काँग्रेसको भागमा पर्नेछ ।

यसैगरी, कतिपय राजनीतिक नियुक्तिमा पनि प्रचण्ड र माधव नेपालले लचकता अपनाउने भएका छन् । सरकार सञ्चालन गर्दा देउवालाई अप्ठ्यारो पर्ने कुनै गतिविधि नगरी सफल बनाउन नेताहरु तयार देखिएका छन् ।

गठबन्धनका नेताहरुले देउवालाई महाधिवेशनमा जिताउने गरी माहोल बनाउन साथ दिने भएका हुन् । देउवाको सत्तारोहणले उनलाई यसै पनि शक्तिशाली बनाएको थियो । त्यसमाथि सत्ता सञ्चालनमा पनि सहयोगी बन्न थालेपछि देउवा महाधिवेशनमा सहज रुपमा जित्ने गरी हौसिएका छन् ।



प्रतिक्रिया दिनुहोस्