Logo

नयाँ दल थपिएपछि संसद सचिवालयलाई चटारो, आर्थिक भार थपियो



भदौ १३, काठमाण्डौ । मुलुकमा दुई नयाँ राष्ट्रिय दल थपिएसँगै संसद सचिवालयलाई ती दल र दलका नेताको व्यवस्थापन गर्ने चटारो छ । सचिवालयले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका लागि संसदीय दलको कार्यालय, प्रमुख सचेतकको कार्यालय तयार पारी सकेको छ । तर बजेटमा नयाँ दलका लागि भनेर रकम विनियोजन नगरिएकाले दुई नयाँ दलका लागि आवश्यक पर्ने वार्षिक ६ करोड जोहो गर्न धौ–धौ परेपछि सचिवालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ ।

चालू आर्थिक वर्षमा संसद सचिवालयलाई दल व्यवस्थापनका लागि करीव ३ करोड रुपैयाँ छुट्याइएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने दुई नयाँ राष्ट्रिय दल थपिएसँगै संसदिय दलका नेता र मुख्य सचेतकहरुका लागि आवश्यक पर्ने गाडी खरीद लगायतका लागि थप बजेट चाहिएपछि सचिवालयले अर्थ मन्त्रालयलाई पत्र काटेको हो । एकासी दुई नयाँ दल थपिएसँगै उनिहरुको कार्यकक्ष, यातायात, स्वकीय सचिव, कार्यालय सहयोगी, स्टेसनरी लगायतका सामाग्रीहरु जोहोमा लागेको संसद सचिवालयलाई बजेट जुटाउन भने अर्थ मन्त्रालय गुहार्ने परेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

नयाँ दल थपिएसँगै संसद सचिवालयले नेकपा एकीकृत समाजवादीका लागि संघिय संसद सचिवालयको भवन नं २ को ३०८ र ३१३ नम्बर कोठा उपलब्ध गराएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका लागि नेकपा एमालेको संसदीय दलको कार्यालयसँगै ब्यवस्था गरीएको छ । आइतबार प्राइम एचडि दुबै दलका संसदीय दलका कार्यालय खोज्दै सिंहदरवार पुग्दा नेकपा एकीकृत समाजवादीका लागि छुट्याईएका कोठाहरुमा ताल्चा लागीरहेको थियो भने लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयका लागि छुट्याईएको स्थानमा दलको नाम उल्लेख गरिएको कबोर्ड नै झुन्डाइएको थिएन । बोर्ड नदेखेपछि लोसपाका अध्यक्ष महन्थ ठाकुर यता उता भौँतारि रहेका थिए । संसद सचिवालयले भने काम गर्न भ्याइ नभ्याइ भइरहेको बताएको छ ।

नेकपा एमाले बिभाजीत भएर नेकपा लोकतान्त्रिक समाजवादी पार्टी बनेको छ भने जसपा बिभाजीत भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको हो । संसदमा चौथो ठूलो दलको रुपमा नेकपा एकीकृत समाजवादी र छैठो दलको रुपमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्