Logo

प्रदेश १ सरकार संकटमा, मुख्यमन्त्री आचार्यविरुद्ध विपक्षी गठबन्धन बहुमतमा 



विराटनगर, १४ भदौ।  प्रदेश १ मा भीम आचार्यकाे मुख्यमन्त्री पद संकटमा परेकाे छ । उनले गत बिहीबार पदभार सम्हालेका हुन् । सरकार बनेकाे दिनदेिख नै ढाल्ने कसरत सुरु भएको छ । एमाले सरकार टिकाउने खेलमा लागेको छ भने विपक्षी गठबन्धन सरकार परिवर्तनको खेलमा लागेको छ ।

नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी तथा साना दुई दलका सांसदहरु सरकार परिवर्तनमा लागेका  छन् ।  प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राई विदा भएर आचार्य आएसँगै एकीकृत समाजवादीका नेता राजेन्द्र राई आफनो नेतृत्वमा सरकार बनाउने कसरतमा लागेका छन् ।

एकीकृत समाजावादीमा १० जना सांसद खुलिसकेका छन् । राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ्, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ माधव नेपाल पक्षामा खुलेका छन् । राजेन्द्र, गणेशकुमार र कृष्ण कुमारी एकीकृत समाजवादीको केन्द्रीय सदस्य पनि हुन् ।

भदौ महिनाभित्रै सरकार बनाइसक्ने समाजावादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र राईले न्युज कारखानालाई बताए । चार पाँच दिनदेखि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाइरहेको राईले जानकारी दिए । एमाले, माओवादीलगायतका दलहरुसँग पनि छलफल भइरहेको उनको भनाइ छ ।

प्रदेश १ मा ९३ सांसद रहेकोमा माओवादी केन्द्रका सांसद टंक आङ्वोहाङ एमाले प्रवेश गरेपछि ९२ छन् । उनकाे सांसद पद गुमिसकेकाे छ । एमालेमा ५१, कांग्रेसमा २१, माओवादी केन्द्रमा १५, जनता समाजवादीमा तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपामा एक/एकजना छन् ।

एमालेका ५१ सांसदमध्ये गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । बाँकी रहेका ५० जना सांसदमध्ये १० जना समाजवादीमा संगठित भएपछि एमाले ४० सांसदमा सीमित बनेकाे छ। मुख्यमन्त्री आचार्यलाई प्रदेशसभामा बहुमतसिद्ध गर्न ४६ सांसद आवश्यक छ । तर, उनीसँग ४० सांसद मात्रै भएपछि अल्पमतमा परेका हुन् ।

यतिबेला मुख्यमन्त्री आचार्य जनता समाजवादीका तीन र अन्य साना दलका दुई र एकीकृत समाजवादीतर्फ गएका एक सांसद तानेर बहुमत जुटाउने रणनीतिमा लागेका छन् ।  न्यूज कारखानाबाट 



प्रतिक्रिया दिनुहोस्