Logo

मन्त्रीको संख्यामै विवाद, नेपालको जति पाउनुपर्ने उपेन्द्रको अडान



काठमाडौं, १४ भदौ । सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा समस्या आएको छ । यसअघि बनिसकेको सहमति विपरित गठबन्धनका नेताहरुले बढी मन्त्रालय र आकर्षक मन्त्रालयको दाबी गरेपछि समस्या आएको हो ।

नेपाली काँग्रेसले कम्तिमा १० मन्त्रालय साथमा रहनुपर्ने अडान राखेको छ । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशन नजिकिएकोले आन्तरिक व्यवस्थापनको विषय उठाएको बुझिएको छ । काँग्रेसबाट प्रधानमन्त्रीसहित २ मन्त्री र १ राज्यमन्त्री छन् । अब कम्तिमा ६ मन्त्रालय आफै राख्ने देउवाको तयारी छ ।

तर, दोस्रो ठूलो दल भएको नेकपा माओवादी केन्द्रले पनि ८ मन्त्रालयको दाबी गरेको छ । प्रतिनिधि सभामा प्रतिनिधित्वका आधारमा मन्त्रालय बाँडफाँड हुनुपर्ने माओवादी प्रस्ताव रहेको बुझिएको छ । ६१ सांसद रहेको काँग्रेसले पाएको भन्दा केही कममात्र आफूले पाउनुपर्ने माओवादी पक्षको अडान रहेको छ । काँग्रेसले १० पाएमा आफूहरुले ८ पाउनुपर्ने माओवादी पक्षको अडान रहेको विश्वस्त स्रोतले बताएको छ ।

प्रतिनिधि सभाका २३ सांसद रहेको नेकपा एसले कम्तिमा ६ मन्त्रालयको दाबी गरेको छ । नेपाललाई आन्तरिक व्यवस्थापनका लागि ५ मन्त्री र १ राज्यमन्त्रीमा देउवाले सहमति गरिसकेको बुझिएको छ । तर, उपेन्द्र यादवले पनि माधव नेपाललाई जतिकै मन्त्री पाउनुपर्ने अडान राखेका छन् । १९ सांसद रहेकाले माधव नेपाल बराबर नै हुनुपर्ने यादवको तर्क रहेको बुझिएको छ ।

मन्त्रीको संख्यामै समस्या आएको छ । मन्त्रालयहरुमा मौखिक सहमति लगभग बनिसकेपनि आकर्षक मन्त्रालयहरुमा सबै दलको दाबी देखिन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्