Logo

सवारी चालक अनुमतिपत्रको परीक्षा भदौ २० बाट पुनः शुरु



काठमाडौं, १४ भदौ । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा यातायात व्यवस्था विभागले पुनः सुरु गर्ने भएको छ । विभागले लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु गर्न मातहतका कार्यालयहरुलाई निर्देशन दिएको हो ।

भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पुरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न विभागले मातहतका कार्यालयहरुलाई निर्देशन दिएको हो ।

यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र ललितपुरले २० भदौदेखि सञ्चालन गर्ने गरी हिजो (आइतबार) सुचना प्रकाशित गरेको छ ।

यसपटक लिखित परीक्षा पास भएका परीक्षार्थीले आफ्नै सवारी साधनबाट ट्रायल परीक्षा दिन पाउने नयाँ व्यवस्था गरिएको छ । ट्रायल परीक्षा दिनको लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्ने विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्