Logo

३ किलो कोकिन सहित ३ जना पक्राउ



काठमाडौं, १४ भदौ, । अवैध लागूऔषध कोकिन सहित ३ जना पक्राउ परेका छन् । २ केजी ९ सय ६६ ग्राम अवैध लागूऔषध कोकिन सहित उक्त कारोबारमा संलग्न रहेको अभियोगमा ३ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा राहदानी नम्बर ए०९२६७५१३ बाहक साउथ अफ्रिकन नागरिक ३० वर्षीया शेर्ली गामा, भारत बैङ्लोर किडाथी कर्नाटक ठेगाना भएका ३३ वर्षीय विजय सिंह र राहदानी नम्बर टिएइ २५५९८१ बाहक तान्जेनियाका नागरिक २६ वर्षीया गेर्तुदे लियोनार्ड किमारो रहेका छन् ।

कतार एयरको उडानद्वारा जोहानेसबर्गबाट कतार हुँदै भदौ ३ गते दिउँसो काठमाडौं आएकी गामाले लागूऔषध कोकिन निकासी गर्दै गरेको अवस्थामा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १ कमलादीस्थित होटलबाट सोही दिन राति उक्त कोकिन सहित पक्राउ गरेको थियो । साथै विजयलाई कोकिन लिन आएको अवस्थामा भदौ ८ गते कमलादीबाट तथा उक्त कारोबारमा संलग्न किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुली खुर्कोटबाट भदौ ९ गते पक्राउ गरेको जनाएको छ ।

बरामद कोकिनको अवैध बजार मूल्य ८ करोड ८९ लाख ८० हजार रुपैयाँ रहेको र उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्