Logo

बाढीपहिरोबाट जनधनको क्षति



काठमाडौंं, भदौ १५ । मनसुनजन्य विपत्मा परेर थप तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् । दुई जना घाइते भएका छन् । बाढी र पहिरोले विभिन्न स्थानमा घर पुरिनुका साथै स्थानीयवासीलाई विस्थापित बनाएको छ ।

नुवाकोट र दाङमा पनि अविरल वर्षापछिको बाढी र डुबानले मानव बस्तीमा क्षति पु¥याउँदा स्थानीय बासिन्दा विस्थापित भएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ । सोमबार तीनसहित मनसुनयता बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या यो वर्षायाममा १०० पुगेको छ । प्राकृतिक विपत्तिबाट ४४ जना बेपत्ता हुन पुगेका छन् भने १०९ जना घाइते भएका केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए।

बाढीपहिरोले ८०८ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । अन्य १६९ घरमा आंशिक क्षति पुगेको छ । बारा, चितवन, नवलपरासीपूर्व, दार्चुला, नुवाकोट र सर्लाही जिल्ला सोमबार बढी प्रभावित देखिएका छन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार पहाडी भेगको दुहुँ गाउँपालिका–१, बासमाली र दुहुँ गाउँपालिका–५, दल्लामा भेलपहिरोमा तीन जनाको मृत्यु भएको हो । त्यस्तै दुहुँकै निझ्याङ गाउँका दुई दाजुभाइ बाढीले बगाएर बेपत्ता छन् । त्यहाँ अझै पनि ४० घरपरिवार विस्थापित हुने उच्च जोखिममा छन् । त्यहाँ पुग्ने झोलुङ्गे पुल र सडकमार्गको पुल दुवै बाढीले बगाएपछि त्यहाँको गाउँ सम्पर्कविहीन हुन पुगेको छ ।

महाकाली नगरपालिकाको श्रीबगरमा १९ परिवार विस्थापित हुने अवस्थामा छन् । श्रीबगर खोला र महाकालीले दुवैतिरबाट काट्दै गरेकाले बस्ती जोखिममा परेको जानकारी उनले बताए । श्रीबगरका सम्भावित विस्थापितलाई आधा किलोमिटर माथि डाँडामा राख्ने तयारी भइरहेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार ज्योतिगरमा पहिरोले सात घर पुरेको छ । चुरे पहाड खसेर बस्तीमा आइपुग्दा अन्य ५० घरमा समेत क्षति पु¥याएको छ । नजिकका अन्य बस्ती पनि जोखिममा रहेकाले निगरानी बढाइएको छ । अझै केही दिन देशका केही भूभागमा ठूलो वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्