Logo

देउवा सभापतिमा उठ्ने घोषणाबाट ब्याक हुनुहुन्नः नेता लेखक



काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन् । देउवा आफ्नो घोषणाबाट ब्याक नहुने उनको दाबी छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता लेखकले भने, “प्रधानमन्त्री एवं सभापति देउवाले फेरि उम्मेदवारी दिने बताइसक्नुभएको छ । उहाँ ब्याक हुनुहुन्छ जस्तो लाग्दैन ।”
तपाईं कुन पदमा उठ्ने हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, “महाधिवेशनको प्रक्रिया प्रारम्भ होस्, अनि म तपाईंलाई भनुँला ।” उनले पार्टीका नेतृत्व र पदाधिकारीका निम्ति उम्मेदवारी घोषणा स्वाभाविक भएको पनि बताए ।
नेता लेखकले कांग्रेसको चौधौं महाधिवेशन अब नरोकिने दाबी पनि गरे । उनले भने, “बहुसंख्यक जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक भइसकेको छ । भदौ १८ गतेदेखि महाधिवेशनको प्रक्रिया सुरु हुन्छ । सबै ठाउँमा निर्वाचन अधिकृत खटिइसकेका छन् । टाढाका दुर्गम जिल्लामा मतदाता नामावली गइसकेको छ । कुनै समस्या आए समाधान गर्दै जाने हो । रोक्ने, रोकाउने कुनै कुरा छैन ।”
महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित गर्न नहुने उनले बताए । उनले भने, “पार्टीको महाधिवेशन भनेको प्राविधिक या प्रशासकीय नितान्त नेतृत्व चयन गर्ने विषय मात्र होइन, पार्टीलाई सैद्धान्तिक, वैचारिक रुपमा परिमार्जित र परिस्कृत गर्ने विषय पनि हो । वडादेखि केन्द्रसम्म पार्टीको संगठन निर्माण र विस्तार गर्ने ठूलो राजनीतिक महाअभियान हो । यो एकदुई जना मानिसले मात्र सम्पन्न गरेर हुन्न, नौ लाख क्रियाशील सदस्यले उत्साहका साथ सम्पन्न गर्नुपर्छ ।”
गठबन्धन दलहरुलाई भाग पुर्याउन मन्त्रालयको संख्या थप्नु संवैधानिक र राजनीतिक रुपमा उचित नहुने पनि उनले बताए । उनले थपे, “ऋषिजी, देउवा विभिन्न राजनीतिक दलको सहयोग र समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो । संयुक्त सरकारमा मन्त्रीको जिम्मेवारी दिनु र फेरबदल गर्ने कुरा जटिल नै हुन्छ । तर मन्त्रिपरिषद् विस्तारका लागि संविधान संशोधन गर्नु उपयुक्त हुन्न । संवैधानिक सीमा २५ भन्दा बढी मन्त्री बनाउनु संवैधानिक र राजनीतिक रुपमा उचित हुन्न । अहिले यतातिर सोच्नुपर्ने अवस्था पनि छैन । संविधानले तोकेको संख्याभित्र मन्त्रिपरिषद् विस्तार गर्ने हो ।”

नेता लेखकले जयसिंह धामीको घटनाको छानबिन समितिले दिएको स्थलगत प्रतिवेदन अध्ययन गरेर सार्वजनिक गरिनुपर्ने बताए । उनले भने, “हाम्रो विकास निर्माणको विडम्बनाका कारण एक नागरिकको ज्यान गएको छ । तर अहिले अनावश्यक अनुमान गर्ने कुरा छैन । हामी सत्यतथ्यका आधारमा अघि बढ्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot