Logo

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक जारी



काठमाडौं, भदौ १५ । मन्त्रिपरिषद विस्तारबारे सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । आजको बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु सहभागी रहेका छन्।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध छन् । यी दलबीच शुक्रबार यता दिनहुँजसो मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुँदै आइरहेको छ ।

सोमबार मात्रै पनि बिहान र साँझ गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुईपटक बैठक बसेको थियो । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका नेताहरू सहभागी थिए ।

बैठकमा गठबन्धन आबद्ध दलले लिने मन्त्रालयका विषयमा कुरा नमिल्दा आज फेरि बैठक बस्ने भन्दै नेताहरू बैठक स्थलबाट उठेका थिए ।

सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिले चार फुल मन्त्री र एक राज्यमन्त्रीकै भरमा सरकार सञ्चालन गर्दै आइरहेका छन् ।

मन्त्रिपरिषद् विस्तार र भागबन्डामा सहमति गर्न भन्दै सोमबार साँझ बसेको बैठकमा समेत मन्त्रालयको भागबन्डामा कुरा नमिलेपछि गठबन्धन आबद्ध शीर्ष तहका नेताहरू नै असन्तुष्ट बनेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot