Logo

यी हुन् अफगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक



एजेन्सी, १५ भदौ । यी अफगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक हुन् । उनी सोमबार मध्यरात हुनैलाग्दा सैन्य विमान चढ्न लाग्दाको तस्बिर हो यो ।

मेजर जनरल क्रिस डोनहुईले अफगानिस्तानको भुई छाडेलगत्तै २० वर्ष लामो अमेरिकी सैन्य उपस्थितिको औपचारिक अन्त भएको थियो । मध्यरात नहुँदै उनी विमानमा पाइला टेकेर ३१ अगष्टमा सम्पूर्ण अमेरिकी सैनिक फिर्ता भइसक्ने सहमति पालना गरिएको थियो ।

अफगानिस्तान छाड्दा जनरल डोनहुईले बायाँ हातले राइफल बोकेका थिए । रातमा खिचिएको यो तस्बिर अमेरिकी रक्षा मन्त्रालयले ट्वीटमार्फत् सार्वजनिक गरेको हो ।

यो तस्बिरलाई सन् १९८९ मा सोभियत संघले अफगानिस्तान छाड्दा एकजना सैनिकको अन्तिम तस्बिरसँग तुलना गरिएको छ । त्यतिबेला उज्वेकस्तानस्थित मैत्रीपूर्ण पुलमा रेड आर्मीका सेनाले अफगानिस्तान छाडेका थिए । सोभियत संघका सैन्य कमाण्डर बोरिय ग्रोमोभले हातमा फूल लिएर अफगानिस्तान छाडेका थिए ।



प्रतिक्रिया दिनुहोस्