Logo

देउवालाई एकपछि अर्को धक्का, निधिपछि सभापतिमा उम्मेद्धवारी घोषणाको तयारीमा गोपालमान श्रेष्ठ



काठमाडौं, १५ भदौ । नेपाली कांग्रसको आसन्न १४औं महाधिवेशनमा सभापतिमा पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि उम्मेद्धवारी दिने भएका छन् । श्रेष्ठ सभापति शेरबहादुर देउवाको विश्वासिलो पात्र हुन । तर, उनले यसपटक भने सभापतिमा उम्मेद्धवारी दिनेगरि तयारी थालेका छन् । कतिसम्म भने उनले आफूलाई सभापतिमा देउवाको पनि साथ र सहयोग रहने दाबी गरिरहेका छन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूलाई सभापतिमा देउवाले पनि सघाउने सनसनीपूर्ण खुलासा गरेका थिए । उनले अब सरकार देउवाले चलाउने र पार्टी आफूले चलाउने सहमति भएको पनि बताएका थिए । यसअघि देउवाको निकट नेता विमलेन्द्र निधिले पनि तामझामका साथ सभापतिमा उम्मेद्धवारी दिनेगरि काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालयको स्थापना गरिसकेका छन् ।

उनले यसपटक आफू कुनैपनि हालतमा ब्याक नहुने सार्वजनिक अभिव्यक्ति दिईरहेका छन् । कतिसम्म भने १३औं महाधिवेशनमा देउवाले आफूलाई १४औं महाधिवेशनमा सघाउने वचन दिएको निधिको भनाई छ । यसअघि देउवाले निधिलाई बोलाएर आफूलाई सहयोग गर्न आग्रहसमेत गरेका थिए । तर, निधिले भने आफू सभापतिको उम्मेद्धवारी दिने कुरामा अब ब्याक नहुने अडान लिएका थिए । १४औं महाधिवेशनमा यसपटक देउवालाई निधि र श्रेष्ठले उम्मेद्धवारी दिए भने नराम्रो धक्का लाग्ने विश्लेषण कांग्रेसभित्रै भैरहेको छ ।

देउवाको सभापतिको उम्मेद्धवार नै म हुँ, म ब्याक हुन्न : गोपालमान श्रेष्ठ (भिडिओसहित)

उता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि सभापतिमा उम्मेद्धवारी दिनेगरि छलफललाई अघि बढाएको छ । अहिले पौडेल पक्षको आन्तरिक बैठक पौडेल निवासमा जारी छ । पौडेल पक्षले भने सहमतिमै सर्वसम्मतीको सभापतिको उम्मेद्धवार तय गर्ने भनेको छ । पौडेल समूहबाट पौडेल स्वयमपनि सभापतिको आकांक्षी हुन । त्यस्तै, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला सभापतिको आकांक्षी हुन् । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्