Logo

हाम्रो मसल दह्रो छ, खेल जित्छौँः अध्यक्ष ओली



काठमाडौं, भदौ १६ । सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भने खेलाडीलाई फुटबल खेल जित्न हौस्याइरहेका थिए । सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने ओलीले १७ भदौमा हुने नेपाल–भारत मैत्रीपूर्ण फुटबल प्रतियोगिताका नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई हौस्याए । उनले खेलाडीसँग कुनै राजनीतिक कुरासमेत गरेनन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा फुटबल खेलाडीलाई नेपालमा राम्रो अभ्यास र तालिम नभए पनि खेलाडीलाई हौसला दिन उनले कुनै कन्जुस्याइँ गरेनन् । एमाले अध्यक्ष ओलीले नेपालका खेलाडी तुलनात्मक रूपमा अग्ला नभए पनि मसल दह्रो भएकाले खेल जित्ने दाबी गरे ।

‘खेल्न नसकेर नजित्ने कारण छैन । हाम्रा खेलाडीको सरदर हाइट कम छ’, उनले भने, ‘तैपनि हाम्रा मसल दह्रो भएकाले खेल जित्छौँ । यस मैदानमा जित्नका लागि आएका छौँ भनेर खेल खेल्ने हो ।’ उनले फुटबल खेल जितेर अन्य खेलको असुल उपर गर्न खेलाडीलाई आग्रह गरे । उनले खेलाडीलाई हरेस नखान र मनोबल उच्च राख्न आग्रहसमेत गरे ।

उनले फुटबल खेल म्याराथन जस्तो नभएको समेत स्पष्ट पारे । ‘यो खेलमा लगातार कुद्नुपर्दैन । एउटा पोस्टबाट अर्को पोस्टको लम्बाइ ८० मिटर । त्यो ८० मिटर कुद्नुपर्दैन’, उनले भने, ‘फुटबलमा रिले दौड जस्तै सय मिटर खुर्र कुद्न सक्नुपर्छ अनि खेलको बीचमा आराम गर्नुपर्छ । अनावश्यक दौडिएर हुँदैन । एकअर्कालाई पास दिएर खेल्नुपर्छ ।’

उनले अलिकति डिफेन्सिभ भए पनि हरेस नखान खेलाडीलाई आग्रह गरे । उनले हाफ टाइमभन्दा अगाडि अर्काले खुरुखुरु चार गोल गरे पनि हाफ टाइमपछि बाँकी रहेको समममा पाँच गोल हान्न आग्रह गरे । ‘हाफ टाइमभन्दा पछि आफ्नो तेज देखाउनुहोस्’, उनले भने, ‘भरसक विपक्षीले भन्दा अगाडि हामीले पहिलो गोल गर्नुपर्छ अनि विपक्षीको मनोबल अलिक कमजोर हुन्छ । ’

उनले दोस्रो गोल आफूलाई सुरक्षित राख्नका लागि हान्न आग्रह गरे । विपक्षीलाई गोल गर्न मौका नदिनुपर्ने उनको भनाई रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्