Logo

नेकपा एसद्वारा बागमती र प्रदेश १ मा मुख्यमन्त्री दाबी



काठमाडौं, १६ भदौ । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्री दाबी गरेको छ । गठबन्धनभित्रको बैठकमै उसले दुवै प्रदेशमा मुख्यमन्त्री दाबी गरेको हो ।

नेकपा एसका केन्द्रीय सदस्य विरोध खतिवडाले बागमती र प्रदेश १ मा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने बताए । रेडियो नेपाली नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले दुवै प्रदेशमा मुख्यमन्त्रीको हकदार आफूहरु भएको बताए ।

बागमती र प्रदेश नं १ मा नेकपा एमाले विभाजन कारण मुख्यमन्त्रीहरु अल्पमतमा परेका छन् । बागमती प्रदेशमा १२ जनाले नेकपा एस रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परिसकेकी छिन् । प्रदेश नं १ मा पनि भीम आचार्यको मुख्यमन्त्री पद धरापमा छन् । नेकपा एसमा १० सांसद जाने तयारीमा छन् । यस्तो अवस्थामा आचार्यले विश्वासको मत पाउने ढोका बन्द हुनेछ ।

बागमती र प्रदेश १ मा एमाले सरकार ढल्न लाग्नुमा आफूहरु नै कारण रहेको भन्दै नेकपा एसले मुख्यमन्त्री दाबी गरेको हो । बागमतीमा राजेन्द्र पाण्डे र प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार छन् ।

गण्डकीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री भइसकेका छन् । लुम्बिनीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री छन् । दुवै प्रदेशमा एमालेको सरकार ढल्नुमा माधव नेपालको विशेष भूमिका छ ।

कर्णाली र सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका तर्फबाट महेन्द्रबहादुर शाही र त्रीलोचन भट्ट नेतृत्वको सरकार ढल्नबाट जोगिनुमा पनि माधव नेपालकै भूमिका छ । सबैतिर एमाले सरकार ढल्नुमा विशेष भूमिका खेलेको भन्दै नेकपा एसले दुई प्रदेशमा मुख्यमन्त्री दाबी गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्