Logo

पार्कमा बस्दा फुरेको सोचले जन्मिएको एसियन कङ्क्रिटो



काठमाडौँ, १६ भदौ । विसं २०७२ को भूकम्प जाँदा उद्योगी तथा व्यवसायी मनिष रुङ्गटा काठमाडौँमा नै थिए । भूकम्प गएपछि आफ्नो घरमा बस्न डरले दुई वर्षको छोरी र श्रीमतीसँगै उनी पनि खुला पार्कमा रात काट्न बाध्य भए ।

रातको समयमा पार्कमा बस्दा फुरेको सोचमा चार जना व्यवसायी मिलेर एसियन कङ्क्रिटो स्थापना गरिएको उनले बताए । “कमसल निर्माणजन्य सामग्रीका कारण हामी रातको समय घरबाहिर बस्नु प¥यो, पछिल्लो समय मैले जस्तै दुःख आम उपभोक्तालाई नहोस् भनेर हामीले गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्ने सोचले कङ्क्रिटो उद्योग स्थापना गर्ने सोच बनायौँ”, उनले भने ।

उनको सोचमा व्यवसायी गौरव अग्रवाल, राजेश अग्रवाल, अनिल जाटिया र मनोज केडियाले साथ दिए । उनीहरु पाँच जनाको सोच र करिब रु डेढ अर्ब लगानीमा नवलपरासीको रामग्राम नगरपालिकाको हाक्यु क्षेत्रमा सन् २०१७ मा कङ्क्रिटो उद्योग स्थापना भएको थियो । एसियन कङ्क्रिटो पूर्णरुपमा जर्मनीको मासा कम्पनीको प्लान्ट हो । मासा विश्वमा ब्लक उत्पादन गर्ने कम्पनीमा सबैभन्दा राम्रो प्रविधि प्रयोग गर्ने कम्पनीका रुपमा समेत चिनिन्छ । मासा कम्पनीलाई नेपालमा उद्योग लगाउन कन्भिन्स गर्न उद्योगका लगानीकर्तालाई समय पनि लाग्यो ।

गुणस्तरीय ब्लक उत्पादन गर्ने कम्पनीमध्ये जर्मनीको मासा कम्पनी रहेको थाहा पाएपछि प्रविधिका बारेमा बुझ्न उनीहरुको टोली जर्मनीसमेत गयो । “लामो समयको प्रयासपछि सो प्रविधि नेपाल भित्र्याउन सफल भयौँ । जर्मन कम्पनीले हामीलाई विश्वास नगर्दा धेरै दुःखका साथ हामीले मासा नेपालमा प्लान्ट लगाउन मेसिन ल्याएका हौँ,” उनले भने, “अहिले पनि उद्योगको उत्पादन प्रक्रियाका बारेमा जर्मनी कम्पनीले प्रत्यक्ष जानकारी लिइरहेको हुन्छ । उद्योगको प्लान्ट र अन्य ठाउँमा गरेर ३६ वटा क्यामरा जडान गरेका छौँ । हामीले गरेको कामको प्रत्यक्ष निगरानी जर्मनी कम्पनीले नै गर्ने गर्छ ।” रासस



प्रतिक्रिया दिनुहोस्