Logo

भारत बिरुद्धको खेलपछि किरण चेम्जोङ नेपालका सर्वाधिक खेल्ने खेलाडी



काठमाडौँ, १६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतविरुद्धका दुई खेल खेलेपछि नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी बन्नेछन् । नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेल अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे जानकारी दिएका हुन् ।

‘भारतविरुद्धका दुई खेलपछि म नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी हुनेछु ।’ उनले भने, ‘मेरा लागि यो धेरै खुसीको क्षण हुनेछ ।’ साथै, उनले आफ्नो लागि देशको प्रतिनिधित्व गरेर खेल्नु नै ठूलो कुरा भएको बताएका छन् । किरणले नेपालका लागि अहिलेसम्म ७२ खेल खेलिसकेका छन् । अहिलेसम्म धेरै खेल खेल्ने खेलाडीको रुपमा पूर्वकप्तान विराज महर्जन रहेका छन् । विराजले नेपालका लागि ७३ पल्ट खेलेका छन् ।

त्यस्तै किरणले भारतविरुद्धको खेल कठिन हुने बताएका छन् । उनले भने,‘मैले यसअघि पनि भारतको सामना गरिसकेको छु, भारत कति बलियो छ भनेर मलाई थाहा छ । त्यसैले भारतविरुद्धको खेल कठिन हुनेछ । तर हामीले पनि लामो तयारी गरेका छौं र हामी अहिले मानसिक रूपमा बलियो छौं’ ।

तस्वीरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot