Logo

देउवा-ओली गठबन्धन बन्ला ?



काठमाडौं, १६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि नजिकिन थालेका छन् । उनीहरुबीच गठबन्धन बनाउने प्रयास चलेको हो । विगतमा पनि यी दुई नेताबीच अघोषित गठबन्धन थियो । कतिपय राजनीतिक र संवैधानिक नियुक्तिहरुमा भद्र सहमति बनाएर बढेको घटना पनि छन् ।

अहिले फेरि देउवा र ओलीबीच गठबन्धनको पहल सुरु भएको छ । विभिन्न माध्यमले सन्देशहरु आदानप्रदान हुन थालेका छन् । देउवा फेरि ओलीलाई भरोसा गर्न सकिने निष्कर्षमा पुग्न थालेका छन् ।
देउवा र ओलीबीच गठबन्धन बन्न सक्ने खास मुद्दा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमा पनि हो । एमसीसी संसदबाट पारित गराउने पक्षमा देउवा र ओली दुवै छन् ।

तर, सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विपक्षमा छन् । उनीहरु संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा खुलिसकेका छन् । अब ओलीको साथ विना एमसीसी पारित गर्न देउवा सफल नहुने देखिएको छ । यसकारण पनि यी दुई नेताबीच गठबन्धन बन्न सक्छ ।

देउवा र ओली धर्मबारे उठिरहेको मुद्दाको सम्बोधनको पक्षमा सकारात्मक देखिएका छन् । दुवै नेता खुलेका छैनन् तर उनीहरुको भूमिकाले त्यस्तै सन्देश दिइरहेको छ । तर, सत्ता गठबन्धनका प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादव तीनैजना धर्मनीरपेक्षको रक्षाका लागि खुलेका छन् । यो विषयले पनि सत्ता गठबन्धनभित्र विस्तारै टकराव आउन सक्ने देखिएको छ । देउवा ओलीसँग नजिकिने अवस्था यसकारण पनि बन्ने सम्भावना छ ।

२०७४ सालको आमनिर्वाचन अघि प्रचण्ड र देउवाबीच गठबन्धन थियो । पछि प्रचण्ड ओलीसँग मिले । स्थानीय चुनावताका देउवासँग गठबन्धन गरेर सरकारको नेतृतव गरेका प्रचण्डले आमनिर्वाचन हुँदा ओलीसँग सहमति गरेर देउवालाई अप्ठ्यारोमा पारेका थिए । देउवा प्रचण्डले धोका दिएको भन्दै आक्रोशित पनि भए । यसपटक देउवाले पनि प्रचण्डको साथ छाडेर ओलीसँग नयाँ सहमति गर्ने सम्भावनालाई नकार्न सकिदैन । राजनीति आखिर सम्भावना खेल हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot