Logo

संक्रमण दर बढ्यो भने फेरि लकडाउन हुन्छः प्रजिअ पराजुली



काठमाडौं, भदौ १७ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य प्रोटोकल पालना हुने गरी सबै क्षेत्र, पेसा र व्यवसाय खुला गरेको बताएका छन् । कोरोना संक्रमण दर केही घटेकाले निषेधाज्ञा खुला गरे पनि बढेको खण्डमा लकडाउने हुने उनको जवाफ छ ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रजिअ पराजुलीले भने, “वैशाख १६ देखि लगाएको निषेधाज्ञा चार महिना भइसकेको छ । कोरोना संक्रमण दर ११ प्रतिशतमा सीमित रहेको, मृत्युदर घटेको र निको हुने दर बढेको सन्दर्भमा हामीले डीसीसीमा लामो समीक्षा गर्यौं । सिनेमा हल, रात्रिकालीन व्यवसाय, पर्यटन क्षेत्रमा रोगले भन्दा भोकले मर्न लागेको अवस्था आयो । हामीले कति बजेसम्म चलाउने भन्ने सम्बन्धमा छलफलका लागि व्यवसायलाई बोलाएका छौं । अब सबैले पेसा र व्यवसाय सञ्चालन गर्न पाउनुहुन्छ । तर आफैं सचेत र जिम्मेवार हुनुपर्यो ।”

हरेक मन्त्रालयले स्वास्थ्य प्रोटोकल तयार गरेकाले त्यसलाई पालना गर्नुपर्ने उनले बताए । उनले भने, “अहिले खोलेका सबै क्षेत्रमा अर्बौं लगानी छ । कतिले आत्महत्या गरे । सरकारले ती क्षेत्रलाई राहत प्याकेज दिन नसक्ने भएकाले निषेध हटायौं । वर्षभरि बन्द गरेर साध्य हुने कुरा होइन । भीडभाड नगरीकन पेसा र व्यवसाय चलाऔं । तर एउटा कुरा के ख्याल गर्नुपर्छ भने संक्रमण दर बढेको खण्डमा निषेधाज्ञा या लकडाउन हुन सक्छ ।”

१८ वर्षमुनिका बालबालिकाले खोप नलगाएकाले तत्काल भौतिक रुपमा स्कूल खोल्न गाह्रो हुने प्रजिअ पराजुलीले बताए । तर काठमाडौं जिल्लाका गोकर्णेश्वर, शंखरापुरा, दक्षिणकाली नगरपालिकाले मोबाइल, ल्यापटप लगायत इन्टरनेटको पहुँच नभएका क्षेत्रमा डीसीसीको समन्वयमा विद्यालय खोेलेको उनको भनाइ छ । अघिल्लो महिना रोकिएको १२ कक्षाको परीक्षा माक्स लगाएर सञ्चालन हुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्