Logo

माधवकुमार नेपाल एन्टी कम्युनिस्ट हुन्ः पोखरेल



काठमाडौं, भदौ १७ । नेकपा (एमाले) का नेता आनन्द पोखरेलले माधवकुमार नेपाल एन्टी कम्युनिस्ट भएको आरोप लगाएका छन् । माधव नेपालले कहाँबाट सुपारी लिएर एमाले फुटाएको हो भन्ने केही समयमै स्पष्ट हुने पनि बताए ।
आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलेले भने, “माधव नेपाल कम्युनिस्ट पार्टीको नेता होइन । उहाँले आफ्नो सरकार ढाल्नुभयो । कांग्रेससँग मिल्नुभो, त्यही पार्टीको नेतालाई भोट हाल्नुभयो, उहाँले कहाँबाट सुपारी लिएर पार्टी फुटाएको हो भन्ने खुल्दै जान्छ । उहाँ कम्युनिस्ट पार्टी मान्नुहुन्न, जबज, माक्र्सवाद मान्नुहुन्न । शेरबहादुर, प्रचण्ड, मधेसवादी दलहरुजस्तै उहाँ एन्टी कम्युनिस्ट हो ।”
नेता पोखरेलले प्रदेश सभामा कसैले प्रश्न नउठाएको, अविश्वासको प्रस्ताव नराखेकाले मुख्यमन्त्रीहरु जान्छन् भन्नु छिटो हुने बताए । उनले थपे, “पार्टी फुटाएपछि प्रदेश सभाको अंकगणितमा फेरबदल आउनु स्वाभाविकै हो । तर मुख्यमन्त्रीमाथि कसैले प्रश्न उठाएका छैनन्, अविश्वासको प्रस्ताव पनि राखेका छैनन् । त्यसैले मुख्यमन्त्री जान्छन् भन्नु छिटो हुन्छ । हामी विश्वास मत लिन्छौं, सांसदले दिएको निर्णय स्वीकार गर्छौं ।”
नेता पोखरेलले एमालेलाई षड्यन्त्रपूर्वक विभाजन गरिएकाले अदालतमा चुनौती दिएको पनि बताए । “हामीले कारबाही गरेका मानिसलाई सभामुखले सूचना टाँस गरेनन् । सभामुखले गरिल्लाको भूमिका खेले । संवैधानिक मूल्य र मान्यता विपरीत गएर एउटा पार्टी फुटाउने हर्कत गरे । अब हामी विपक्षको धर्म निर्वाह गर्छौं । निर्वाचन आयोगले पनि तिनै सांसदलाई सनाखत गरिदियो । त्यसैले अदालतमा जानु बाध्यता हो,” उनले थपे ।

उनले एमालेलाई बाइपास गरेर देश अघि बढ्न नसक्ने पनि बताए । उनले भने, “हामी मुलुकको ठूलो पार्टी हौ, हामीलाई बाइपास गरेर संविधान र लोकतन्त्र अघि बढ्न सक्दैन ।” साथै उनले एमसीसीमा सरकारलाई एमालेले साथ नदिने पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्