Logo

एमालेलाई पाखा लगाइएको भन्दै युवा संघका अध्यक्ष पौडेल आक्रोशित, सत्तापक्षीय गठबन्धनमा खट्पट् सुरु भएको टिप्पणी



काठमाडौं, १७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को भातृ संगठन युवा संघका अध्यक्ष किरण पौडेलले मुलुककै सबैभन्दा ठुलो राजनितिक दल एमालेलाई विस्थापित गराइएको भन्दै आक्रोस पोखेका छन् । आज (बिहीबार) राजधानीमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘अहिले शेरबहादुरको नेतृत्वमा सरकार छ तर, यो सरकारको काम छैन् । यो सरकारको आँखा छ यसले देख्दैन्, खुट्टा छ हिँड्दैन्, कान छ सुन्दैन् । दाउपेचको श्रंखलाबाट जनताको जनादेशले होइन की छलछाम, षड्यन्त्र, पदलोलुपता, स्वार्थ र कागजको भरमा टिकेको सरकार हो ।’

उनले वर्तमान सरकार विदेशीका षड्यन्त्रका कालाकोठरीबाट निर्माण भएको पनि आरोप लगाएका छन् । पौडेलले अफगानिस्थानमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि सरकारले कुनै पहलकदमी लिन नसकेको पनि गुनासो पोखे । उनले थपे,‘नेपालीहरुको अफगानीस्थानमा भएका नेपालीहरुको उद्धारको लागि फाइल अगाडि बढाउने काम पटक्कै गरेन्, बरु यो डेढ महिनामा प्रधानमन्त्रीले स्वकिय सचिव मात्र नियुक्त गर्नुभएको छ । यो बिडम्बनापूर्ण अरु के हुन्छ ?’

उनले यसअघि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीनमा अलपत्र परेका विद्यार्थी तथा अन्य स्थानमा अलपत्र नागरिकलाई विभिन्न देशबाट तुरुन्त ल्याएको स्मरण गराए । ‘अहिलेको सरकारले १ महिना बितिसक्दा पनि आफ्नो नागरिकलाई अलपत्र पर्दासमेत उद्धार गरेर ल्याउन सकेन ।’–उनले भने ।

पौडेलले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनलाई स्वार्थमा आधारित समिकरणको संज्ञा दिएका छन् । उनले भने,‘सत्तापक्षीय गठबन्धन स्वार्थ समिकरणको आधारमा निर्माण भएकोे थियो, त्यो स्वार्थ समिकरणको घेराबन्दीले वर्तमान सरकारलाई अप्ठ्यारो पारेको हो की भन्ने हामीले बुझेका छौ ।’ उनले एमालेजस्तो ठुलो दललाई पाखा लगाएर सानातिना÷झिनामसिना दलहरु सत्तामा पुगेकोमा पनि गुनासो पोखेका छन् ।


तस्विरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्