Logo

प्रधानन्यायाधीशविनाको ‘संवैधानिक इजलासमाथि प्रश्न’, शुक्रबारको सुनुवाई स्थगनको आदेश



काठमाडौं, १७ भदौ । संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाईका लागि गठित संवैधानिक इजलासमा शुक्रबार हुने भनिएको सुनुवाई स्थगित गर्न आदेश दिएको छ । न्यायाधीश हरिप्रयास फुयाँलको एकल इजलासले सुनुवाई स्थगितको आदेश दिएको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायधीश रहनैपर्ने भन्दै अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै तत्काल संवेधानिक नियुक्तिसम्बन्धी सुनुवाई स्थगित गर्न आदेश दिएको हो ।

संवैधानिक इजलासमा सम्बन्धित रिटको सुनुवाईमा प्रधानन्यायधीश बस्ने/नबस्ने टुंगो लगाउनुपर्ने भएको भन्दै अन्तिम टुंगो नलागेसम्म सुनुवाई गर्न/नगराउन अन्तरिम आदेश जारी गरिएको छ ।

यसअघि दायर रिटमा संविधानमा प्रधानन्यायाधीश बाहेकको नेतृत्वमा संवैधानिक इजलास गठन हुन नसक्ने जिकिर गरिएको छ ।

यसैगरी, सर्वोच्च अदालतले प्रधानन्यायधीशको सहभागिताका सम्बन्धमा लिखित जवाफ पेश गर्न सर्वोच्च न्याय परिषद र कानुन व्यवसाय न्याय परिषदका २-२ जनालाई अदालतको सहयोगीका रुपमा उपस्थित गराई दिन समेत भनिएको छ । लिखित जवाफको तीन दिनपछि मात्र मुद्दाको पेसी तोक्न आदेशमा भनिएको छ ।

आजको आदेशसँगै संवैधानिक परिषदले अध्यादेशमार्फत् गरेको नियुक्ति सिफारिश भई भएका नियुक्तिबारे परेको रिटमाथिको सुनुवाईले नयाँ मोड लिएको छ । यसअघि प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले आफू समेत सहभागी भई गरेको निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाईका लागि बनेको संवैधानिक इजलासमा बस्दा प्रश्न उठेपछि अलग रहने निर्णय लिएका थिए । उनी सुनुवाईका बखत र अन्तिम निर्णयको दिन बिदा बस्ने भएका थिए ।



प्रतिक्रिया दिनुहोस्