Logo

चीनले सीमा नमिचेको भन्नेहरुलाई हेलिकोप्टरमा लगेर देखाइदिने काँग्रेस नेता शाहीको चुनौती



काठमाडौं, १८ भदौ । हुम्लाका प्रदेश सभा सांसद समेत रहेका नेपाली काँग्रेसका नेता जीवनबहादुर शाहीले चीनले नेपालको सीमा मिचेको ठोकुवा गरेका छन् । सीमा मिचेको आफ्नै आँखाले समेत देखेको भन्दै प्राविधिकहरुबाट अध्ययन गर्दा अझ प्रष्ट हुने ठाकुवा गरे ।

चीन रिसाउँछ की भन्ने नाममा आफ्नो भूमि मिचिदा पनि मिचिएको छैन भन्नेहरुलाई स्थलगत अवलोकन गरेर मात्रै निश्कर्ष निकाल्न सुझाव पनि दिए । चीनले भूमि मिचेको छैन भनेर दावी गर्ने नेताहरुलाई आफ्नै खर्चमा हेलिकोप्टरमा सिमा क्षेत्रमा लैजान तयार रहेको पनि बताए ।

विगतमा आफैले बाटो बनाएको, भोगचलन गरेको र सिमाना वारी नै रहेको ठाउँमा अहिले चीनबाट अतिक्रमण भएको उनको भनाई थियो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले भने, “चीनले नेपाली भूभाग मिचेको मैले नांगो आँखाले देखेको छु, त्यसका बारेमा निश्पक्ष छानविन गर्न मैले माग गर्दै आएको छ ।”

उनले आफ्नो लगातारको मागपछि सरकारले उच्चस्तरीय छानविन समिति बनाएकोमा धन्यवाद दिदै यसले विवाद अन्त्य गर्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

“चीनले सिमाना मिचिरहने, हामी चुप लागेर सहीरहने हो भने कहिले पनि समस्याको समाधान हुदैन, विवाद झन बल्झीदै जान्छ र दुई देशबीचको सम्वन्ध थप बिग्रिन्छ,” नेता शाहीले भने। स्थगलगत अवलोकन नगरी काठमाडौमा बसेर चीनले सिमाना नमिचेको दावी गर्नेहरुलाई उनले स्थलगत अवलोकन गर्न आग्रह पनि गरे।

 



प्रतिक्रिया दिनुहोस्