Logo

तालिवानलाई चीनमाथि किन धेरै भरोसा



एजेन्सी, १८ भदौ । अफगानिस्तानमा हतियारको बलमा सत्ता कब्जा गरेको अतिवादी समूह तालिवानले चीनबाट साथ पाएको खुलेको छ । तालिवानले आधिकारिक रुपमै चीनसँग सामिप्यता बढाएको र आशा राखेको सार्वजनिक रुपमै बोलेको छ ।

पछिल्लो समय चिनियाँ अधिकारीहरुसँग तालिवान अधिकारीहरुको कुराकानी बढ्न थालेकोछ । दोहास्थित तालिवानको विदेश कार्यालयमा रहेका अब्दुल सलाम हनाफीले चिनियाँ उपविदेशमन्त्री ऊ जियाङघाओसँग टेलिफोन कुराकानी गरेका छन् । तालिवानका प्रवक्ता सुहेल साहइनले सामाजिक सञ्जालमा कुराकानीबारे खुलाएका छन् ।

चिनियाँ उपविदेशमन्त्री जियाङघाओले काबुलस्थित चिनियाँ राजदूतावास खोल्ने र विगतमा भन्दा भिन्न तरिकाले सम्बन्ध बढाउने विषयमा बोलेको उल्लेख छ । चीनले आधिकारिक धारणा सार्वजनिक गर्दै अफगानिस्तानसँग सुमधुर सम्बन्ध बनाएर अफगानिस्तानको पुनःनिर्माणको आशा राखेको बताएको छ ।

चीनको विदेश मामलासम्बन्धी सन्देश दिने पत्रिका ग्लोबल टाइम्सले सम्पादकीय र लेखहरुमार्फत् अफगानिस्तानमा तालिवानसँगको सुमधुर सम्बन्धबारे खुलाएको छ । तालिवानको विजयसँगै अमेरिकासहित पश्चिमा सैनिक फिर्ता भएपछि चीनको जीतको शैलीमा खबरहरु प्रकाशन गरिरहेको छ । चीनले अफगानिस्तानमा भूमिका बढाउने र निर्माण क्षेत्रमा लगानी गर्ने सन्देश पनि दिइरहेको छ ।

काबुल कब्जा गर्नु अघि नै तालिवानी नेताहरुले चिनियाँ अधिकारीहरुसँग नियमित सम्पर्क गरेका थिए । २८ जुलाईमा चिनियाँ विदेशमन्त्री वाङ ईसँग तालिवानका नेता मुल्लाह अब्दुल घानी बारादारले चीनमै पुगेर भेटेका थिए । त्यो भेट चीनको साथ लिने अभिप्रायले भएको थियो । भेटको २ हप्तापछि तालिवानले हतियारको बलमा अफगानिस्तानमा कब्जा जमायो ।

यसअघि तालिवानले सोभियत संघको सैनिकविरुद्ध लडेका थिए । अमेरिकाको साथ पाएर तालिवानले अफगानिस्तानमा पसेका सोभियत संघका सैनिकलाई फर्कन वाध्य पारेका थिए । अहिले तालिवानले त्यस्तै बाह्य साथ पाएर अमेरिकालाई फर्कन वाध्य पारेको छ । तालिवानले चीनबाट साथ पाएको विश्लेषण भइरहेको छ । विगतमा अमेरिकामार्फत् पाकिस्तानबाट तालिवान प्रभावशाली भएका थिए । अहिले पाकिस्तानबाट नै चीनमार्फत् तालिवान प्रभावशाली भएको विश्लेषण हुन थालेको छ ।

अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि पाकिस्तानले आफ्नै जीत भएको जसरी सन्देश दिइरहेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त्यही आशयका साथ प्रतिक्रिया दिए । इरान पनि अमेरिकी सैनिक अफगानिस्तानबाट हटेपछि विजय भएको ठानिरहेको छ । यो घटनाले दक्षिण एशिया र मध्य एशियाका क्षेत्रको बीचतिर चीन प्रभावशाली बनेको देखिएको छ ।

तर, तालिवान शक्तिमा आएसँगै अतिवादी इस्लामिक समूहको खतरा बढेको विश्लेषणहरु भइरहेको छ । दक्षिण एशिया र मध्य एशियामा सबैभन्दा बढी चुनौती थपिएको छ । अरबौं डलरको अत्याधुनिक हतियार इस्लामिक अतिवादीको हातमा पुगेसँगै यो क्षेत्रमै अशान्ति हुनसक्ने खतरा औल्याइएको छ । तालिवान सत्तामा हुँदा दक्षिण एशियामा सबैभन्दा बढी अशान्ति भएको विगतको इतिहासले पनि त्रास बढ्न थालेको छ । त्यसमाथि चीनको साथ तालिवानले पाउनु र उसले चीनसँग सामिप्यता बढाउँदै लानुले नयाँ घटना विकास हुने देखिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्