Logo

आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दामाथि राख्न कोइरालाको आग्रह



काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीमा हुने आन्तरिक लोकतान्त्रिक अभ्यासलाई जित र हार भन्दामाथि राख्न आग्रह गरेका छन् । उनले विगतमा पार्टी भित्र गुट र विभाजनको स्थायी चरित्रका रुपमा बसेको संस्कारलाई हटाउन नसकेको कारण आमनिर्वाचनमा कम्युनिष्ट भन्दा कांग्रेस कमजोर हुनपुगेको बताएका छन् ।

कोइरालाले आज एक विज्ञप्ती जारी गर्दै स्वस्थ र शालिनप्रतिस्पर्धाले कांग्रेसको छवि राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा समेत उचाइमा पुग्ने बताएका हुन् । उनले आन्तरिक लोकतन्त्रलाई सबल बनाउन स्वस्थ प्रतिस्पर्धा अनिवार्य हुने पनि स्पष्ट पारेका छन् ।

‘कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त एक नम्वरको पार्टी बनाउने जिम्मेवारी हाम्रो अगाडि छ । त्यस्तै पार्टी भित्र नयाँ संस्कार र पद्धति निर्माणको लागि पर्खन हामीसँग समय छैन । उत्सवको रुपमा आएको चौधौ महाधिवेशनलाई हामी ‘गुट र गिरोह’ समाप्त गर्न सफलिभूत हुनु पर्नेछ ।’ उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘चौधौ महाधिवेशन माहामारीमा श्रद्धेय नेताहरु, लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्ने ती शहिदहरु, द्वन्द्व पीडित साथै संघर्षको प्रत्येक मोर्चामा संलग्न भएका साथीहरुको गरिमा र भावना अनुरुप आफूलाई प्रस्तुत गर्नुपर्ने जिम्मेवारी छ । हाम्रो सामान्य गल्ती र कमजोरीले पनि हामी कांग्रेसको इतिहास प्रति न्याय गर्न सक्दैनौं, भविष्यका पुस्ताको लागि कांग्रेस असान्दर्भिक हुनसक्छ ।’

उनले पार्टीको क्रियाशील सदस्यको संख्यामा व्यापक वृद्धि भएको समेत उल्लेख गरेका छन् । चौधांै महाधिवेशनलाई ‘उत्सव’ का रुपमा लिन सबैलाई आग्रह गरेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्