Logo

‘आफ्नो भूमि र देशको अस्मितामाथि धावा गरेको चाहीँ टुलुटुलु हेरेर बस्न सकिदैन्’ : जीवनबहादुर शाही (भिडिओसहित)



नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चीनसँगको नेपालको सिमा विवादलाई लिएर अध्ययन गर्न सरकारले समिति बनाएको भन्दै धन्यवाद दिएका छन् । आफूहरुले त यसअघि नै छानबिन समिति बनाउनको लागि तत्कालिन् सरकारसमक्ष ज्ञापनपत्र नै बुझाएको पनि उनले स्मरण गराए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले चीनसँगको सिमा विवाद अध्ययन गर्नको लागि समिति बनाउँदै नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नबिग्रिने पनि दाबी गरे । प्रस्तुत छ नेता शाहीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

सीमा विवाद समाधान गर्नको लागी सरकारले कार्यदल गठन गरेको छ, त्यसले अध्ययन गरेर प्रतिवेदन दिने भनेको छ । साँच्चिकै सरकारले तपाईंको माग पुरा गरेको हो त ?

सरकारले समिति बनाएको छ, त्यसको लागि सरकारलाई धन्यवाद दिन चाहान्छु । यो मेरो मागभन्दा पनि तपाईं÷हामी सबै नेपाली जनताको माग हो । जहाँ समस्या हुन्छ, त्यसको समाधानको लागि त्यो ठाउँमा जानुपर्छ भन्ने हाम्रो माग थियो । त्यसका लागि हामीले तत्कालिन् सरकारलाई ज्ञापनपत्र पनि बुझाएका थियौं । दुई देशका सम्बन्धका बारेमा नानाथरी कुराहरु भएका थिए । अब यो समितिले दुई देशको सम्बन्धलाई झन प्रगाढ बनाउनेछ । त्यस्तो खालको प्रतिवेदन जान्छ भन्नेमा मैले विश्वास लिएको छु ।

हुम्लामा साँच्चिकै चीनसँग नेपालको सीमा विवाद छ त ?

सीमा विवाद नभएको भए यी कुराहरु यसरी आउने थिएनन् । सीमामा पुग्न कति दुःख÷कष्ट छ भन्ने कुरा सबैलाई थाहा छ । तपाईंले पनि यसबारेमा धरै बहसहरु चलाइरहनुभएको छ । त्यसरीनै अहिले नीति विमर्श भन्नेले पनि त्यहाँको डिटेल कुराहरु लेख्नुभएको छ । अनि जुन हुम्लाको नाम्खा गाउँपालिकाको लिमी–लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको त्यो गच्छुदोसाबाट अहिलेको लालुङ्जोङसम्म मैले २०६६ सालमा आफैंले दुई किलोमीटर भन्दा बढी बाटो खनेको हो । म जिल्ला बिकास समितिको सभापती हुँदा त्यो खनेको बाटो आज उहाँहरुको क्षेत्रभित्र परेको छ । यतातिर हिल्सा भन्ने जुन नाका छ । सबैले सुनेको नाका हिल्सा भन्ने त्यहाँ ९–२ को पिलर माथि नै बार हालिएको छ । ६–१ को पिलर र ५–२ को पिलर हामीहरुको एकल पिलर हो । त्यसलाई उहाँहरुले आफूतिर राख्नुभएको छ भने ५–२ को पिलर हामी दुईवटै देशको हो । तर त्यसलाई पनि उहाँहरुले उता राख्नुभएको छ । त्यो भन्दा अगाडि पनि कृषि मन्त्रालयले हाम्रो यत्ति हेक्टर जमिन मिचिएको छ भन्दापनि पछी फेरी के कति कारणले हो÷होइन भन्ने कुरा आयो । यो प्रष्ट के हो भने मेरो नाङ्गो आँखाले ती पिलरहरु मिचिएको देखेको छ । त्यसैगरी लाप्चाको १२ नम्बर पिलर चाँही एक पक्षीय ढङ्गले डिसमेन्टल गरेर त्यो फेरी बनाइएको छ । इन्टरनेस्नल बोर्डर प्रोटोकलमा कुनै पनि बोर्डरको पिलरहरु चलाउँदाखेरि दुई देशको प्रतिनिधिहरुको उपस्थिति हुनुपर्छ । त्यो बेला फोटो र भिडियो खिचेर पनि मिडियामा आएको थियो । त्यसकारण नभएको कुरालाई हामीले भएको भनेका होइनौं । तर, सरकारले त्यतिबेला एक ईन्च पनि मिच्चिएको छैन भन्यो । यदि छैन भने काठमाडौं वा बेईजिङमा बसेर हुम्लाको सिमानाको कुरा थाहा हुँदैन । त्यसकारणले एउटा उच्चस्तरीय समिती गठन गरेर त्यहाँ गएर हेरिसकेपछि सत्य–तथ्य थाहा हुन्छ, भविष्यमा पनि यस्ता कुरा आउदैनन् भनेर हामीले भनेका हौ ।

तर, तत्कालीन सरकारले खासगरी परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकाल्दै चीनसँग कुनै सीमा विवाद छैन भनेको थियो नी ?

हो, त्यही कुरा आइसकेपछि तपाईंले नै मलाईं भन्नुभएको थियो । परराष्ट्रमन्त्रीले यस्तो भन्नुभयो, तपाईंले के भन्नुहुन्छ भन्दा मैले भनेको थिएँ । पुर्व परराष्ट्रमन्त्रीज्यूलाई म यो भन्न चाहान्छु–तपाईं रेकर्ड हेरीदिनु । मैले टेलिभिजनबाट देखाएर हुँदैन । म उहाँलाई फोटो देखाउन चाहान्छु । माथि जाउँ समिति बनाउनुस भनेको थिएँ । तर, सरकारले बेवास्ता गर्यो । हचुवाको भरमा सीमा मिचिएको छैन भन्यो । तर, अहिलेको सरकारले समिति बनाएको छ । अब समस्याको समाधान होला ।

सरकारसँगै चीनसँगको नीति फेरीयो, पररााष्ट्र मन्त्रालयले सीमा मिचिएको छैन भनेको विषयमा फेरि समिती गठन गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती गर्नुभयो भन्छन् नी ? यो विषय उठाउँदा चीनसँगको कुटनीतिक सम्बन्ध चिसिँदैन ?

होइन, मानिसहरुले के भनेका छन्, मैले बुझिनँ । त्यसोे हो भने कुनैपनि छिमेकी मुलुकसँग हाम्रो विवाद भयो भने उनीसँग बोल्नै हुँदैन, उनीसँग वार्ता हुनै हुँदैन । दासत्व स्विकार गरेर बस्ने हो भने हाम्रा नेताहरुलाई केही भन्नु छैन । तर, कुनैपनि मुलुकसँग सिमा विवाद भएपछि त्यसको समाधान खोज्दा त्यस देशसँगको सम्बन्ध चिसिने होइन्, अझ मजबुद हुनुपर्छ । प्रत्येक १० वर्षमा सीमा बोर्डरको विषयमा पुनरावलोकण हुनुपर्छ । तर, त्यो पनि भएको छैन् । त्यसैले सरकारले राम्रो काम गरेको छ ।

नारायणकाजी श्रेष्ठको पनि प्रतिक्रिया आएको छ, उहाँले त चीनसँग सीमा विवाद छैन सरकारले समिती गठन गरेर गलत गर्यो भन्नुभयो, यस वियषमा के भन्नुहुन्छ ?

नारायणकाजीजी जस्तो जल्दोबल्दो नेतालाई म तपाईंमार्फत आह्वान गर्छु कि तपाईं आइदिनुहोस । म स्वागत गर्छु, सीमामा जानुहोस अनि बोल्नुहोस न । काठमाडौंमा बसेर राष्ट्रियसभा सदस्यलाई यस्तो बोल्ने अधिकार कहाँबाट आयो ? म आग्रह गर्छु । उहाँहरु आउन सक्नुहुँदैन भने म हेलिकप्टरको खर्च व्यहोर्छु, अवलोकण गर्नुहोस अनि बोल्नुहोस भन्न आग्रह गर्न चाहान्छु । हामी वर्षौदेखि यही ठाउँमा बसेर समस्या भोगिरहेका छौं । हामीले यहाँबाट बोल्न नपाउने अनि उहाँहरु काठमाडौंबाट त्यसरी बोल्न कसरी मिल्छ ? कुन प्रमाण दिनुहुन्छ उहाँहरुले दिनपर्यो नी ।

चीनसँग सीमा विवाद छ भनेर तपाईंले भन्नुभयो, कर्णालीका मुख्यमन्त्रीलाई पनि लगेर जानुभयो अनि निरीक्षण पनि गर्नुभयो, तर चीन तपाईंसँग रिसाएको छ नि !

हो, त्यसैले त यस्तो कुरा गर्नेहरुलाई म यहाँ आएर अवलोकन गरेरमात्र बाल्न अनुरोध गरेको छु । मुख्यमन्त्रीज्यूले अवलोकन गर्नुभएको छ । यहाँका कर्मचारीहरुले अवलोकन गरेर प्रतिवेदन बुझाएका छन् । तर, उहाँहरुलाई गृहमन्त्रालयबाट उहाँहरुको सरुवा गरिएको छ । उनीहरुलाई धम्की दिइएको छ । मलाईसमेत धम्की दिइएको छ । यदि चीनले हामीले सीमा मीचेका छैनौं भन्छ भने २०६६ सालमा आएर बाटो खन्न किन लगाएको हो ? लाप्चा र लालुङ्जोङको बाटो खन्ने बेला चीनका प्रतिनिधीहरु पनि यहाँ आएका थिए । तर, हिल्साको विषयमा चाहीँ हाम्रा पिलरहरुलाई तारबार गरेर आफुभित्र राख्नुभएको छ । त्यसलाई सीमा मीचेको भन्ने की नभन्ने ?

तर, चीन यो कुरा मान्न तयार छैन्, हामीले नेपालको भू–भाग मीचेका छैनौं भनेको छ नी !

त्यसैले त हामी भनिरहेका छौं । त्यो मान्न तयार छैनौं भने उच्चस्तरीय समिति बनाएर त्यसलाई यहाँ पठाऔं । छानविन गरेर प्रतिवेदन तयार हुन्छ । अनि थाहा भइहाल्छ नी ! हामी सीमाको विषयमा चुप बस्नुपर्छ भन्ने मान्यता हाम्रा नेताहरुमा छ । जुन कुरा एकदमै गलत छ । यस्ता विषयमा हामी बोल्नुपर्छ । यो मेरो, यो तेरो भनेर झगडा गर्नेकी राम्रोसँग समाधान गर्ने हो ?

हाम्रो देशमा धेरै किसिमका समितिहरु बने, प्रतिवेदनहरु तयार भए तर कार्यान्वयन भएका छैनन् । यो समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन होला त ?

मलाई एकदम विश्वास के छ भने नेपालले समिति बनायो, यसरीनै चीनले पनि समिति बनाएर यहाँका स्थानीय निकाय र जनताहरु सबैलाई राखेर नाँप, नक्शा सबै गरेर हेरेपछि भोलिको दिनमा समस्या आउँदैन । ती खालका नक्शाहरु पनि समबन्धित जिल्लामा राखेर सम्बन्धित जिल्लाहरुमा राखिसकेपछि भविष्यमा यस्तो समस्या आउदैन् । मलाई अहिलेपनि के कुरामा विश्वास छ भने यो अन्तर्राष्ट्रिय रुपमा पनि आइसकेको हुँदा यो बन्छ र यो कार्यान्वयन पनि हुन्छ । जसले गर्दा दुई देशको सम्बन्धमा दरार होइन बरु सुमधुरता ल्याउनेछ । हामी यो ठाउँका जनतालाई चाहिने छिमेकी भनेको चीन नै हो । त्यसैले हामी चीनसँग राम्रो सम्बन्ध बनाउन चाहान्छौं । तर, पनि आफ्नो भूमिमाथि, आफ्नो अस्मितामाथि धावा गरेको चाहीँ टुलुटुलु हेरेर बस्न सकिदैन् । त्यसकारणले हामीले यी कुरा उठाएका हौं । त्यसैले यो कुरा चाहीँ कार्यान्वयन हुन्छ भन्नेमा म विश्वस्त छु । file photo



प्रतिक्रिया दिनुहोस्