Logo

दोस्रो ‘कौसी क्विन २०७८’ प्रतियोगिता हुने



काठमाडौँ, १८ भदौ: दोस्रो एनटिएस कौसी क्विन–२०७८ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागिताका लागि भदौ २० गतेसम्म समयसीमा तोकिएको छ । त्यस्तै यही भदौ २२ देखि आगामी असोज २० गतेसम्म भोटिङको समय हुनेछ भने फाइनल इभेन्ट आगामी असोज २२ गते हुने आयोजकले जनाएको छ ।

प्रज्ञा क्रिएसन प्रालिद्वारा सञ्चालन गर्दै आइएको हलोखबर डटकमले गत वर्षजस्तै यस वर्ष पनि कौसी क्विन प्रतियोगिता गर्ने भएको हो । हलोखबर डटकम नेपालको कृषिसम्बन्धी समाचार सम्प्रेषण गर्ने अनलाइन हो । बढ्दो सहरीकरणसँगै सहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवद्र्धन गर्ने उद्देश्य तथा कौसी खेती गरिरहेकालाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले यस प्रतियोगिता सञ्चालन गर्दै आइएको हो । सहरी दिगोपन प्रवद्र्धनका लागि कौसीखेती यस वर्षको नारा रहेको छ ।

प्रथम वाग्मती प्रदेशस्तरीय कौसी क्विनको सफलतापश्चात् दोस्रो कौसी क्विन २०७८ प्रतियोगिता भने राष्ट्रव्यापी रुपमा नै आयोजना गरिने भएको हो । कौसीमा लगाइएको तरकारी तथा फलफूल खेती गर्नेहरु प्रतिस्पर्धामा सहभागी हुन सक्ने प्रज्ञान क्रियशन प्रालिका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए । कौसीमा काम गर्दै गरेको फोटो र भिडियो पठाएर सहभागी हुने सम्पूर्णलाई कौसी खेतीमा काम लाग्ने रु एक हजार बराबरको सामग्रीसमेत प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुनका लागि सहभागीले कौसीमा रोपिएका तरकारी तथा फूलबारीमा काम गर्दै गरेका १० वटा फोटो र बढीमा १० मिनेटको भिडियो हलोखबरकोमा पठाउनुपर्ने र सहभागिताको लागि कुनै शुल्क नलाग्ने आयोजकले बताएका छन् । यस प्रतियोगिताका टाइटल विजेतालाई रु ५० हजार बराबरको ग्रिन हाउस प्रदान गरिनेछ ।

यसका साथै, फस्ट रनरअपले जनही रु २० हजार, सेकेन्ड रनरअपले रु १५ हजार तथा थर्ड रनरअपले जनही रु १० हजार बराबरको कौसी सामग्री पाउनेछन् । सहभागी सबैलाई रु एक हजार बराबरको सान्त्वना पुरस्कारको पनि व्यवस्था गरिएको छ । यस कार्यक्रमको प्रमुख प्रयोजन नेपाल थोपा सिँचाइले गरेको छ । त्यसैगरी यस कार्यक्रममा नेपालस्थित इजरायली राजदूतावास र काठमाडौँ महानगरको समेत सहकार्य हुनेछ ।

नेपालस्थित इजरायली राजदूत खनान गोदार, काठमाडौँ महानगरपालिकाका कृषि शाखा प्रमुख हरि भण्डारी, कृषि विज्ञ डा विष्णुप्रसाद चापागाई, गत वर्षको फूलतर्फकी विजेता डा नम्रता पाण्डे र कृषि ज्ञान केन्द्र, ललितपुरका प्रमुख कृष्णभद्र अधिकारी निर्णायक मण्डलमा रहनेछन् ।

कौसी खेतीमा भाग लिनेको फोटो हलोखबर डटकमको फेसबुक पेज र यूट्युब च्यानलमा पोस्ट गरिनेछ । सहभागीले बढीभन्दा बढी लाइक, शेयर र कमेन्ट गर्नुपर्नेछ र यसरी भएको सहभागिता र भोटिङबाट ६० प्रतिशत तथा ४० प्रतिशत नम्बर निर्णायक मण्डलले प्रदान गर्नेछन् ।-रासस



प्रतिक्रिया दिनुहोस्