Logo

सत्ता गठबन्धनभित्र शक्तिराष्ट्रलाई हेर्ने दृष्टिकोणमा खटपट



काठमाडौं, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष निर्देशनमा चीनसँगको सीमा समस्या अध्ययनका लागि सरकारले समिति नै बनाएको छ । हुम्लालगायत चीनसँग सीमा जोडिएका ४ जिल्लाका ११ स्थानमा भूमि मिचिएको भन्दै जनप्रतिनिधिले नै आवाज उठाएपछि सरकारले अध्ययन कमिटी गठन गरेको हो ।

प्रधानमन्त्री देउवाको कदमप्रति गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी असन्तुष्ट भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले विभिन्न तरिकाले असन्तुष्टि व्यक्त गरेका छन् ।

सत्ता गठबन्धनको नेकपा एस नजिक विद्यार्थी संगठनले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । दार्चुलामा तुइन घटनामा जयसिंह धामी वेपत्ता भएकोमा छानविनका लागि गठित सरकारी टोलीले भारतको सीमा सुरक्षा बल एसएसबीको उपस्थितिमा घटनामा घटेको प्रतिवेदन सार्वजनिक गरेको छ । घटनामा एसएसबी दोषी रहेको आरोप लगाउँदै सत्ता गठबन्धनकै दल विरोधमा उत्रिएको छ ।

भारतलाई हेर्ने दृष्टिकोणमा सत्ता गठबन्धनभित्र विवाद देखिएको छ । नेपाली काँग्रेस भारतसँग नजिकको सम्बन्ध बनाएर जान खोजिरहेको छ । उसको चीनसँग दुरी देखिएको छ । गठबन्धनका माओवादी र नेकपा एस भारतसँग भन्दा चीनसँग निकटता बढाएर जान खोजिरहेका छन् । जुन अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे पनि देखिएको छ ।

एमसीसी संसदबाट पारित गर्न प्रधानमन्त्री देउवा तत्पर देखिएका छन् । एमसीसीका उपाध्यक्ष नेपाल भ्रमणमा आउन लागेपछि तरंग आएको छ । एमसीसी विना संशोधन पारित गर्न नहुने पक्षमा प्रचण्ड र माधव नेपाल छन् । नेपालले सार्वजनिक रुपमै संशोधविना एमसीसी पारित गर्न नहुने बताइसकेका छन् ।

एमसीसी अमेरिकासँग जोडिएको विषय भएकाले गठबन्धनभित्र अमेरिकालाई हेर्ने दृष्टिकोणमा मतभेद छ । देउवा अमेरिकाप्रति लचिलो छन् । प्रचण्ड र माधव नेपाल अमेरिकाप्रति कडा नीति राख्छन् । एमसीसीप्रति उनीहरु सकारात्मक नहुनुको कारण पनि यही हो ।

अहिले गठबन्धनभित्र विदेशीलाई हेर्ने दृष्टिकोणले मतभेद बढ्दै गएको छ । गठबन्धनले सरकार निर्माण गरेको दुई महिना नबित्दै शक्तिराष्ट्रलाई हेर्ने दृष्टिकोणमा मतभेद बढेको छ । यसले गठबन्धनमै नयाँ संकट आउने सम्भावना बढेको छ ।



प्रतिक्रिया दिनुहोस्