Logo

दिल्लीमा नेपाल मामलामा के पाक्दैछ ?



काठमाडौं, १९ भदौ । भारतीय राजदूत विनयमोहन क्वात्रा यतिबेला दिल्लीमै छन् । ११ भदौमा नेपालको पछिल्लो घटनाक्रमबारे ब्रिफिङ गर्न दिल्ली गएका उनी यसपटक लामो समय बसे ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग क्वात्राको नजिकको सम्बन्ध र सम्पर्क छ । उनी विगतमा कर्मचारीकै रुपमा मोदीसँग नजिक रहेर काम गरेका हुन् । यसपटक उनले नेपाल मामलामा माथिल्लो तहकै चासो भएपछि ब्रिफिङ गरेको बुझिएको छ ।

भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेता विजय चौथाइवालेको नेपाल भ्रमण सकिएलगत्तै क्वात्रा पनि दिल्ली प्रस्थान गरेका हुन् । चौथाइवालेले यसपटक नेपालका अधिकांश प्रभावशाली नेताहरुसँग भेटवार्ता गरेर घटना परिस्थितिबारे बुझेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाबाट भेटवार्ता सुरु गरेका उनले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटी भ्रमण टुंग्याएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड, लोसपा अध्यक्ष महन्थ ठाकुरका अलावा विभिन्न दलका दोस्रो तहका नेताहरुसँग पनि भेटे । तर, जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेटेनन् ।
चौथाइवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासपात्र हुनुले पनि भ्रमण अर्थपूर्ण रह्यो । उनी फर्किएलगत्तै क्वात्रा पनि फर्किए ।

क्वात्रा दिल्लीमा रहेको बखत भारतीय सेनाले नेपालका पूर्वप्रधानसेनापतिहरुलाई भ्रमणको निम्तो गरेको छ । पूर्वप्रधानसेनापतिहरु धर्मपालबरसिंह थापा, प्रज्ववल शमशेर राणा, प्यारजंग थापा, रुक्माङ्गत कटवाल, छत्रमान गुरुङ, गौरव शमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापालाई निम्तो आएको हो । उनीहरुमध्ये अधिकांश भ्रमणमा जाने निश्चित भएको छ । कटवाल नेपालमा हिन्दु राष्ट्र अभियानमै सक्रिय छन् ।

पूर्वसेनापतिहरुलाई दिल्ली डाकेर भारतले दुई देशको सम्बन्धका अलावा नेपाल मामलामा लिन सक्ने नयाँ रणनीतिबारे परामर्श समेत गर्न खोजेको बुझिएको छ । बदलिंदो विश्व राजनीति र दक्षिण एशियामा उत्पन्न नयाँ घटनाक्रमपछि भारतले नेपाल मामलामा सुरक्षाका दृष्टिले निकै चासो बढाउन खोजेको संकेतका रुपमा लिइएको छ ।

सैन्य कुटनीतिमा भारतले जोड दिन थालेको सन्देशका रुपमा पनि यसलाई लिइएको छ । अर्कोतर्फ, भारतको सत्तामा भाजपा हुनुले धर्मसंस्कृतिको मुद्दा उतिकै महत्व दिइरहेको छ । विश्वस्त स्रोतका अनुसार भारतको सत्तारुढ भाजपानिकट नेपाल मामलाका जानकारहरु समेत दिल्लीमा भेला भएका छन् । यसलाई दिल्लीमा नेपाल मामलामा केही पाक्दै गरेको बुझ्न सकिन्छ ।

नेपालमा सत्ता परिवर्तन, एमसीसी, तुइन घटनाका अलावा चीनसँगको सीमा विवादको विषय जोडतोडले उठिरहेको छ । एमसीसी र चीनसँगको सीमा विवादबारे सत्तापक्षमै मतभेद देखिन थालेको छ । अर्कोतर्फ, प्रतिपक्षी एमालेको चीनसँग सीमा विवाद नरहेको दाबी छ ।

एमाले र जसपाको विभाजनसँगै नेपालभित्र नयाँ शक्तिसन्तुलन निर्माण भएको छ । धर्मको मुद्दा बहसमा आइरहेको छ ।

अन्तर्राष्ट्रिय परिस्थिति पनि फरक भएको छ । दक्षिण एशियामा चीन र भारतको टकराव बढेको छ । चीनसँग अमेरिकालगायत पश्चिमा शक्तिको पनि टकराव बढेको छ । यसबीच भारतले नेपाल मामलामा नयाँ परिस्थितिमा नयाँ रणनीति बनाउन खोजेको देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्