Logo

अर्बौं ठगीमा न्यून क्षतिपूर्ति



काठमाडौं, भदौ २० । वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी हुँदा क्षतिपूर्ति भने निकै थोरैले पाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा अर्बौं रूपैयाँको ठगी हुँदा निकै थोरैले क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेको हो। हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२ करोड रूपैयाँ क्षतिपूर्तिबापत पीडितले पाउने गर्छन्। यस्तो क्षतिपूर्ति पनि लामो दौडधुप र अनेक प्रयासपछि पीडितलाई हात लाग्ने गरेको छ।

यस अवधिमा विभागमा ठगीका नौ हजार बढी ठगीका उजुरी परेका छन्। विभाग बाहेक कतिपय पीडितले प्रहरी र स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयमा समेत ठगीको उजुरी दिने गर्छन्। सबैतिरको उजुरीलाई आधार मान्ने हो भने वैदेशिक रोजगारीको नाममा निकै ठूलो ठगी भएको हुन सक्ने धेरैको अनुमान छ।

कोरोना महामारीको बेलामा पनि वैदेशिक रोजगारीका नाममा ठगी हुने गरेको पाइएको छ। जबकि महामारीको बेला वैदेशिक रोजगारीमा जानेको संख्या निकै घटेको छ। ‘विभागमा पर्ने धेरैजसो उजुरी दलाल र म्यानपावरले ठगेको भन्दै पर्ने गर्छन्,’ विभागका कर्मचारीले भने, ‘कतिपयले घरायसी लेनदेनको कारोबार नमिल्दा पनि वैदेशिक रोजगार ठगीमा उजुरी गर्ने गरेका छन्।’ वैदेशिक रोजगारी ठगीमा दाबीको डेढ गुणासम्म क्षतिपूर्ति पाइने कानुनी प्रावधान भएकाले घरायसी लेनदेनका कारोबारलाई वैदेशिक रोजगारीका ठगीसँग जोडेर उजुरी गर्ने गरिएको उनको भनाइ छ। तर कतिपय पीडित भने केही व्यक्तिले घरायसी लेनदेनलाई वैदेशिक रोजगारीको नाममा ठगी भएको दाबी गर्दै उजुरी गर्ने भए पनि धेरैको हकमा त्यस्तो नहुने गुनासो गर्छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्