Logo

भाटभटेनी सुपरस्टोरको नयाँ शाखा इटहरीमा



काठमाडौँ, २० भदौ। सुनसरीको इटहरीमा भाटभटेनी सुपरस्टोरले आफ्नो १९औं शाखा उद्घाटन गरेको छ। इटहरीको १७ लबिपुरमा शनिबार सुपरस्टोरको उद्घाटन भएको हो। इटहरीमा सञ्चालनमा आएको स्टोर नेपालकै सबैभन्दा ठूलो भएको भाटभटेनीले जनाएको छ ।

१८ महिनाअघि निर्माण सुरु गरिएको १९औं शाखा अन्य शाखाभन्दा ठूलो भएको जनाइएको छ । ए, बी र सी गरी ३ वटा ब्लकमा रहेको सुपरस्टोर ३५ कठ्ठा क्षेत्रफलमा फैलिएको नयाँ स्टोरमा तीन अर्बको लगानी रहेको जनाइएको छ ।

शनिबारबाट सञ्चालनमा आएको सुपरस्टोरमा मदिरा तथा सुर्तीजन्य पदार्थबाहेक सामानमा १० प्रतिशत छुट दिइएको छ। बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट रहेको सुपरस्टोरमा करिब ५ सय सवारी सहज रूपमा अटाउने बताइएको छ। सुपरस्टोरको पहिलो तलामा भान्साघरका लागि आवश्यक पर्ने सरसामान र बालबालिकाका खेलौना राखिएको छ।

त्यसैगरी, दोस्रो तलामा कपडा, जुत्ता राखिएका छन्। तेस्रो तलामा विद्युतीय सामान, सजावटका सामान, गलैँचा आदि छन्। त्यसैगरी, चौथो तलामा फर्निसिङका सामान र त्यसमाथि २ वटा मल्टिप्लेक्स चलचित्र हल हुनेछन्। जसमा करिब १ हजार दर्शकले एकैपटक चलचित्र हेर्न सक्नेछन्।



प्रतिक्रिया दिनुहोस्