Logo

‘एमसीसी संसद्बाट पारित गरियो भने यो नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुनेछ’ : भीम रावल (भिडिओसहित)



काठमाडौं, २० भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । उनले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको पनि आलोचना गरेका छन् । उनले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुनेछ भन्नेपनि टिप्पणी गरेका छन् ।

आज (आईतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसी सम्झौताको पूनरावलोकन गर्ने अधिकार पनि एमसीसीलाई मात्रै रहेको भन्दै आपत्ति जनाए । उनले भने,‘नेपाल सरकारको निर्णय अधिकारलाई सिमित पारिएको छ । सरकारले कुनै निर्देशन दिन नसक्ने, नीति निर्माण गर्न नसक्ने, र जुन मिलिनियम च्यालेन्ज अकाउन्ट भन्ने कार्यालय खोलेको छ, कस्तो भ्रम सिर्जना गर्न खोजिएको छ भने त्यसको प्रमुख नेपालको अर्थसचिव, बोर्डको प्रमुख पनि नेपालकै, तर त्यो बोर्ड र त्यो मिलेनियम च्यालेन्ज अकाउन्टले नेपाल सरकारको कुनै निर्देशन नमान्ने, सिधै एमसीसीको निर्देशन मान्ने भनिएको छ । यो कल्पना गर्न सकिन्छ ? के अमेरिकाले आफ्नो देशको कुनै कार्यालयलाई त्यसरी विदेशीको निर्देशनमा राख्न तयार हुन्छ ?’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमसीए नेपाल पनि नेपाल सरकारप्रति उत्तरदायी नहुने भनिएकोमा आपत्ति जनाए । उनले भने,‘त्यो एमसीसीप्रति उत्तरदायी हुन्छ । यो व्यवस्था कम्प्याक्टको परिसुचक १ सी २, कार्यान्यवयन सम्झौताको धारा २, दफा २.६ ए, २.८ ए, २.९ जि, …यसमा यो व्यवस्था छ । अब हेर्नुहोस, एमसीसीले कुनै कारणले क्षतिपूर्ति दिनुपर्ने अवस्था आयो भने, कहिलेकाहीँ घट्ना घट्छन् नि, त्यो क्षतिपूर्ति दिनुपर्ने अवस्था आएमा त्यो एमसीसीका कर्मचारीलाई क्षति पुर्याउने कुरा भएको भएपनि नेपाल सरकारले तिर्नुपर्ने, तर आयोजनाको अनुगमन र सुपरिवेक्षण भने नेपाल सरकारले गर्न नपाउने लेखिएको छ । यो भन्दा राष्ट्रिय स्वतन्त्रतामाथिको आघात के हुन सक्छ ? आयोजनाका कर्मचारी एमसीए नेपालले नियुक्त गर्ने भनिएको छ, तर नियुक्त हुने व्यक्तिको नागरिकता कुन देशको हो ? भनेर हेर्न नमिल्ने ? यो पनि गलत हो ।’

उनले नेपाली जनताका प्रतिनिधिहरु अब छिट्टै नै बस्ने संसदमा नेपाल सरकार र एमसीसी सम्झौता के गर्छौ भनेर हेरिरहेको सुनाए । उनले भने,‘यस सम्बन्धमा जुनबेला नेकपा थियो, त्यसको दोस्रो केन्द्रीय कमिटी बैठबाट एमसीसीबारे कार्यदल बनेको थियो, कार्यदलले यसका गम्भीर प्रावधानहरु, जो नेपालको स्वाधिनताको प्रतिकुल छन्, जसको नेपालको स्वतन्त्र परराष्ट्र नीति समाप्त गरेर शक्ति राष्ट्रसको रणनीतिमा घचेट्ने छ भनेर, त्यसको अध्इयन गर्न झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनेको थियो । कार्यदलले प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदनमा हामीले एमसीसीमा नेपालको राष्ट्रियहितको प्रतिकुल काम भएका छन् भनेर राखेका थियौं ।’
उनले नेपालले १३ अर्ब लगानी गर्ने भनिएको उल्लेख गर्दै उक्त कार्यक्रम लागु भएन भने नेपालले लगानी गर्ने रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने सम्झौतामा केही नलेखिएको पनि सुनाए । उनले भने,‘यो सम्झौता असमान छ । प्रावधानले नेपालको आत्मनिर्णयको अधिकारमा आँच पुर्याउँछ । अनुदान भनेपछि यो अमेरिकी योजना हो भन्ने कुरा प्रष्ट छ । ३८.५ प्रतिशत रकम कहाँ खर्च हुन्छ भनेर विस्तृत रुपमा भनिएको छैन् ।’

 

 

 

 

 

 

 

 

 

 

 

 

एमसीसी सम्झौता नेपालको कानूभन्दा माथि रहने भनिएकोमा पनि उनले आपत्ति जनाए । उनले भने,‘अमेरिकाको अहिलेको कानून नेपालको भन्दा माथि हुने भनिएको छ, त्यो मात्रै होईन भोलि पनि माथि नै हुने भनिएको छ । यस्तो दफा राख्ने नेपाल राज्यको कर्मचारी होईनन्, तिनीहरु विदेशकाी दलाल हुन । अमेरिकी सुरक्षा र स्वार्थ प्रतिुकल भए एमसीसी तत्काल खारेज हुनेछ भनेर लेखिएको छ । सिन्धुपाल्चोक जिल्लामा प्रसारण लाईन नै बन्दैन, यो किन राखियो ? कारण चीनसँग जोडिएको जिल्ला हो । नेपाल सरकारले कुनै कम्पनीलाई सम्पूर्ण अधिकार दिँदैन् । एमसीसीले दिएको सुझाव नेपाल सरकारले मान्नुपर्छ भनिएको छ । यस्तो पनि सम्झौता हुन्छ ? एउटा स्वतन्त्र देशले यस्तो मान्न मिल्छ ? नेपालले रद्द गर्दा तीस दिनको सूचना दिनुपर्छ । तर, उसले जुनसुकै बेला रद्द गर्न सक्छ ।’

त्यस्तै, बैंकमा राखिने पैसाको व्याज नेपालले नपाउने कुरा सम्झौतामा राखिएको भन्दै उनले यस्तो प्रावधान नेपालको हितमा नहुने सुनाए । उनले भने,‘बैंकमा राखिने पैसा अमेरिकाले लैजान्छ । यो कसरी नेपालको परियोजना हो ? जग्गा अधिग्रहण किन सुरु गरियो ? आयोजना सुरु हुनुभन्दा पहिले संसद्मा अनुमोदन हुनुपर्छ नि । आयोजनास्थलमा लोगो राख्दा नेपालको राख्न पाईँदैन् भनिएको छ । हामीमा मातृभुमिप्रति माया छ । अर्थ मन्त्रालयले गोप्य रुपमा अमेरिकालाई पत्राचार गरेर उर्जा मन्त्रालयको अधिकारको प्रावधान हटाएको कुरा आएको छ, विद्युत प्रसारण लाईनको सञ्चालन कसले ? र कसरी गर्ने भन्ने कुरा पनि उल्लेख छैन् । सम्झौतामा नेपाल सरकारको निर्णय अधिकारलाई सिमित गरिएको छ ।’

एमसिए नेपाल एमसीसीप्रति मात्रै उत्तरदायी हुने तर नेपाल सरकारप्रति उत्तरदायी नहुने कुरा पनि सम्झौतामा राखिएको भन्दै उनले आपत्ति जनाए । उनले थपे–‘क्षतिपूर्ति नेपाल सरकारले तिर्नुपर्ने तर सुपरिवेक्षण नेपाल सरकारले गर्न नपाउने ? यो कस्तो सम्झौता हो ? एमसीसी अन्य देशमा पनि विवादस्पद छ । श्रीलंकाले फिर्ता गरिसकेको छ । यो सम्झौता गरियो भने नेपालको संविधानको पनि विरुद्धमा हुन्छ । नेपाल शक्ति राष्ट्रहरुको लुछाचुँडीमा पर्नेछ । देशप्रतिको ठूलो धोका हुनेछ । एमसीसीको विरुद्धमा बोल्न पाउँदै भनेर गृह मन्त्रालयले भनेको छ । गृह मन्त्रालयले यस्तो सूचना जारी गर्दा त्यो सूचना जारी गर्नेहरुलाई कानूनी कारबाही हुनुपर्छ । किनभने यो सूचना संविधानको विरुद्धमा छ ।’

त्यस्तै, उनले नेपालका पूर्व सैनिक प्रमुखहरु पँक्तिवद्ध भएर भारत जान लागेको भन्दै प्रश्नसमेत उठाए० । उनले भने,‘उहाँहरुलाई त्यसरी जानको लागि कसले स्विकृति दियो ? सरकारको नीतिविपरित कुनै कार्यक्रममा भाग लिन पाउँदैनन् । नेपाल सरकारले के प्रयोजनाको लागि स्विकृति दिएको हो ? सेनापतिहरु किन भारत जाँदैछन् ? नेपाल सरकारले के कामको लागि उहाँहरुलाई स्विकृत दिएको हो ? हामीलाई जानकारी मिलाउदिनुहोला, म पत्रकार मित्रहरुलाई आग्रह गर्छ । असोज ४ गतेदेखि कार्तिक १३ गतेसम्म भारतको उत्तराखण्ड, पिथौरागढमा नेपाल र भारतबीच संयुक्त सैन्य तालिम हुने भनिएको छ, त्यसकै लागि जान लाग्नुभएको हो कि ? नेपालको स्वतन्त्रता, स्वाधिनता, अस्मितामाथि खेलबाड गरियो भने, संवेदनशील कुरा हो । लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले अतिक्रमण गरेको छ । त्यो जमिन फिर्ता ल्याउनको लागि साझा कार्यक्रममा गठबन्धन चुपचाप छ । तराई डुबानमा छ । भारतसँगको सिमानामा समस्या छ, तर गठबन्धन चुप लागेको छ । हुम्लाको एक ठाउँमा चीनले सीमा मिच्यो भनेर सरकारले समिति बनाउँछ, समस्या छ भने चीनसँग वार्ता गर्नुहोस न शेरबहादुरजी । यो लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे वार्ता गर्नुपर्नेछ अनि ईपिजीको प्रतिवेदन अझैसम्म भारतले बुझेको छैन्, यो विषयमा ध्यान मोड्नको लागि सरकराले ध्यान मोडेको हो । नेपाली जनतालाई भ्रम छर्ने काम जुन गरिँदैछ । त्यो गलत हो ।’

भारत, चीनलगायतका देशसँगपनि नेपालले विभिन्न सम्झौता गरेको भन्दै ती सम्झौताहरु संसद्मा नपठाईएको रावलको भनाई छ । उनले भने,‘तर, यो किन पठाईँदैछ, किन यसलाई अन्तर्राष्ट्रिय कानूनसरह मान्यता दिन खोजिँदैछ ? किनभने यो हाम्रो देशको कानूनभन्दा माथि बन्नुपर्ने भएको हुनाले, भोलि संसदबाट पारित भएन भने त संसद्भन्दा माथि जान सक्दैन्, अनि नेपाललाई नियन्त्रण गर्न सकिँदैन ? भोलि हिन्द प्रशान्त रणनीतिको अंग बनाउँदा त्यो अनुसार सामरिक हिसाबमा यसलाई घचेट्नपर्यो भने कानून नबनाई त घचेट्न सकिँदैन्, यो दुराशयबाट यो कुरा ल्याईँदैछ । अहिले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसीका उपाध्यक्ष र सह–उपाध्यक्षलाई नेपालमा बोलाएर प्रत्येक नेताहरुको घरघरमा पठाएर, ती नेताहरुलाई सम्भवतः विभिन्न प्रकारका कुरा त हुने होलान नि, म धम्की नै होला भनेर अहिले कसरी भनौं ? नेपालको संविधान बनाउँदा विदेशी कुटनीति आउँदा नेताहरुको घरघरमा पुगेर धम्की दिएको हामीले भुलेका छैनौं । यो सरकार जनादेशबाट बनेको होईन, अहिले यो सरकारले एमसीसीका हाकिमहरुलाई नेपाल बोलाएर जुन काम गर्दैछ, यदि यो सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरियो भने यो नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुनेछ ।’

त्यस्तै, उनले नेकपा (एमाले) को पार्टी एकताको लागि आफूहरुले गम्भीर पहल गरेको पनि स्मरण गराए । उनले आफूहरुले पार्टी एकताको लागि तयार पारेको दश बुँदे सहमति कार्यान्वयन हुनेपनि विश्वास दिलाए । उनले भने,‘गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग अलग भए, हामीले एमाले पूनजीर्वित हुनुपर्छ भन्यौं । अध्यक्ष केपी ओली र माधव नेपालले चार घण्टा वार्ता गर्नुभयो । २०७५ जेठ २ गतेअघि फर्काउने, हामीमाथि भएको कारबाही फिर्ता गर्ने, एकताको लागि माधव नेपालले ६ बुँदे पत्र अध्यक्ष ओलीलाई पठाउनुभयो । ११ जना स्थायी कमिटीका सदस्यहरुले असार २७ गते दश बुँदे सहमतिमा हस्ताक्षर गर्यौं । त्यसमा दुवै जना नेताको सहमति थियो । यो सहमति भैसकेपछि यसको कार्यान्वयन हुनुपर्छ । पार्टीलाई एकताबद्ध बनाउनुपर्छ । तदअनुरुप नै हामी एउटा विचार समुह बनेको थियो । हाम्रो समूहको त्यतिवेलाको स्थायी कमिटी बैठकमा यो दश बुँदे उपलब्धिमूलक छ भनियो । यो कार्यान्वयन गरेर एमालेलाई बलियो बनाउनुपर्छ । दश बुँदे कार्यान्वयन हुनुपर्छ भनेका छौं ।’

उनले अहिले महाकाली सन्धिको कुरा उठिरहेको भन्दै त्यतिवेला एमालेको महासचिव को थियो ? भन्दै सबैलाई थाहा भएको सुनाए । उनले भने,‘त्यो सन्धिमा पनि अनुचित काम भएको छ ।’ उनले आफूहरुले पार्टी एकताको लागि दश बुँदे सहमित गरेको भन्दै त्यो सहमति कार्यान्वयन हुनुपर्ने बताए । उनले भने,‘कतिपयले हामीले माधव नेपाललाइ उचाल्यौं, उचाल्यौं अनि अन्तिममा साथ छोडेको भन्नेपनि सुनियो, माधव नेपाललाई हामीले उचालेको हो भने अहिले हामीले भन्नुपर्दा बस्नुपर्छ । संसद् विघटन गर्दा हाम्रो धारणा मिलेको थियो । प्रतिनिधिसभा पूनःस्थापना भैसकेको छ । दश बुँदे सहमति भैसकेको छ । अब पार्टी विभाजन किन गर्ने ? नयाँ पार्टी राष्ट्रिय हितमा अघि आउनुपर्यो नि ।’



प्रतिक्रिया दिनुहोस्