Logo

मन्त्रालयमै बोलाएर अर्थमन्त्री शर्माले गभर्नरलाई भने–पुँजी बजारमा देखिएको पछिल्लो परिस्थिति सहज बनाउनुहोस



काठमाडौं, २१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई पुँजी बजारमा देखिएको पछिल्लो अवस्थालाई सहज बनाउन निर्देशन दिएका छन् । राष्ट्र बैंकको नीतिको कारण बजार घटेको भन्दै शेयर लगानीकर्ताहरुले गभर्नरको राजीनामा मागिरहेको बेला अर्थमन्त्री शर्माले पनि गभर्नरलाई आज (सोमबार) मन्त्रालयमा बोलाएर तत्काल परिस्थिति सहज बनाउन निर्देशन दिएका हुन् ।

मन्त्री शर्माले सेयर लगानीकर्ताको मनोवल गिर्ने गरी कुनै पनि काम नगर्न गभर्नरलाई निर्देशन दिएको स्रोतको दाबी छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारमा जाने मार्जिन प्रकृतिको कर्जाको सीमा ४ करोड देखि १२ करोडसम्मको निर्धारण गरेको थियो ।

यसैगरी केन्द्रीय बैंकले एकीकृत निर्देशिका २०७७ लाई परिमार्जन गर्दै एकाघर परिवारले १ बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र एकभन्दा बढी वित्तीय संस्थाबाट अधिकतम १२ करोडसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ । हिजो मात्रै सेयर बजारमा ऋणात्मक सर्किट ब्रेकर लाग्नुका साथै १०८ अंकले घटेको थियो । पुँजीबजार संघर्ष समितिले आज राष्ट्र बैंक परिसर बालुवाटारमा गएर मौद्रिक नीतिमा गरिएको व्यवस्थाको विरोध जनाएको छ।



प्रतिक्रिया दिनुहोस्