Logo

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी



नयाँ दिल्ली, २१ भदौ: भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो ।

यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिने गरेकामा अहिले घटेर ३८ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३८ हजार ९४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । ती मध्ये केरला राज्यमा मात्रै २६ हजार ७०१ जना सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३० लाख २७ हजार ६२१ पुगेको मन्त्रालयले जनाएको छ ।पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम हुदै आएको छ ।त्यसैगरी पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा पनि बृद्धि भएको छ । केही हप्तासम्म चार लाखभन्दा कम सक्रिय सङ्क्रमितहरु रहेकोमा अहिले बढेर चार लाख चार हजार ८७४ पुगेको छ ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ४० हजार ७५२ को मृत्यु भएको छ भने तीमध्ये २१९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।त्यसैगरी एक दिनमा ४३ हजार ९०३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्