Logo

‘यथास्थितिमा एमसीसी संसद्मा पेश हुन्छ भन्नेमा मलाई विश्वास छैन्’ : जगन्नाथ खतिवडा (भिडिओसहित)



नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले यथास्थितिमा एमसीसी संसद्मा पेश हुन्छ भन्नेमा आफूलाई विश्वास नभएको स्पष्ट पारेका छन् । तर, अहिलेको अवस्थामा यो प्रस्ताव आए आफ्नो पार्टीले एउटा निर्णय लिने पनि उनको भनाई छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीमा को–को सरकारमा सहभागी हुने भन्नेबारे अहिले छलफल चलिरहेको पनि सुनाए । को मन्त्री बन्ने ? भन्नेबारे पार्टीभित्र कुनै विवाद नभएको उनको भनाई थियो । प्रस्तुत छ नेता खतिवडासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंहरुको पार्टीको संरचना बन्यो, नेताहरुलाई जिम्मेवारी बाँडफाँड पनि गर्नुभयो, सरकारमा जान अझै के कुराले रोकेको छ ?

हामीले आफ्ना आन्तरिक कुराहरु गर्दैछौं । भदौ २२ गतेसम्म हामीले देशभरिका जनप्रतिनिधिहरुलाई नेकपा (एकीकृत समाजवादी)मा समाहित गर्नका लागी जिल्ला निर्वाचन कार्यालयमा हस्ताक्षर गराउने कार्यमा लागेका छौं । त्यसैले हामी सबै नेताहरु देशैभरि व्यस्त छौं । भोलिबाट यो व्यस्तता सकिन्छ । त्यसपछि तत्काल सरकारमा जाने परिस्थिति निर्माण हुन्छ ।

त्यसोभए तपाईंहरु पर्सीसम्म सरकारमा जानुहुन्छ, सहमति हुन्छ, मन्त्रालयको भागबन्डा मिल्छ ?

हैन एक/दुई दिन पछाडि पनि हुनसक्ला । तर, हामी तयारी भएर बसेका छौं । त्यसैले यसमा अन्यौलमा पर्ने वा भ्रममा पर्ने स्थिति छैन् ।

तर, क–कसलाई मन्त्री बनाउनुहुन्छ, तपाईको पार्टीभित्र आकांक्षीहरु धेरै छन् ?

छैन, अहिले हामीलाई केही पनि गाह्रो छैन । २०–२२ जना हाम्रा प्रतिनिधीहरु हुनुहुन्छ । कोही व्यक्तिहरुलाई निर्वाचन आयोगले सनाखत गरिदिएन । त्यसैले यति थोरैलाई म्यानेज गर्न हामीलाई गाह्रो छैन् । दोस्रो कुरा, सांसद पद नै त्यागेर आन्दोलनमा होमिनुभएका हाम्रा मित्रहरुले मन्त्री पद नपाउँदा त्यसमा कुनै उत्पाद गर्छन् भन्ने कसैले सोचेको छ भने त्यो गलत हो । उहाँहरुको त्यागको अबमूल्यन हो । त्यसकारणले उहाँहरुले त्यस्तो केही भन्नुभएको छैन् ।

५ वटा मन्त्रालय तपाईंहरुको भागमा परेको छ तर २२ जनालाई मन्त्री बन्न परेको छ तपाईंहरुलाई अनि कसरी सहमति हुन्छ ?

त्यसो छैन, कम्युनिष्ट आन्दोलनको आदर्श र नीतिहरुलाई कार्यान्वयन गर्न अगाडी बढेको मान्छे आज नभए अर्कोपटक चुनाव जितेर मन्त्री भइन्छ । यसमा हामीलाई कुनै समस्या छैन् ।

तर, मन्त्री नभए हामी केपी ओलीसँग जान्छौं भनेर प्रेम आले र किसान श्रेष्ठले पार्टीमा बिद्रोह गर्दैछन् भन्छन् नी ?

यो कुरा सत्य होइन । को मन्त्री हुन्छ भन्ने कुरा निर्णय भएपछि मात्र थाहा हुन्छ । योग्यता र मान्छेको कार्यक्षमता हेरिन्छ । हामीलाई मन्त्री कस्लाई बनाउने भन्ने कुनै कुराको समस्या छैन् । खाली यो सनाखत गरिसकेपश्चात् गरौं भन्ने हाम्रो सोच मात्रै हो ।

तपाईंहरु भारतको विरोध गरिरहनुभएको छ, तपाईंहरुका भातृ संगठनहरुले भारतीय प्रधानमन्त्रीको पुत्लादहन गरेका छन् । तर, सरकारले भारतविरोधी अभियान नगर भनेको छ । गृह मन्त्रालयको वक्तव्य पढ्नुभयो ?

हो, मैले पढें । यो भारतविरुद्धको अभियान होइन । कतिपय नीति र क्रियाकलापको विरुद्धमा जनसंगठनहरुले गरेको विरोध अभियान हो । हामी कहिल्यैपनि कुनै देशको, कुनै शक्तिको अनि कुनै ब्यक्तिको विरोध गर्दैनौं । अब खाली उसले सञ्चालन गरेका कामहरु र उसका गतिविधिले नेपालको राष्ट्रियता, सार्वभौमिकताको हितमाथि असर पर्याे भने हामीले विरोध गर्छौ । त्यसैले आज जनसंगठनहरुले गरिरहेका छन् । पार्टीले कुनै धारणा बनाएर निर्देशन दिएको पनि छैन् र पार्टी राष्ट्रियताको पक्षमा सधैंभरि उभिन्छ भन्ने कुरामा दुईमत छैन ।

तपाईंको पार्टी सरकारमा छ, सरकारमा भएको पार्टीले भारतको विरोधमा प्रदर्शन गर्न मिल्छ त ?

सरकार र पार्टी अन्तरसम्बन्धित पनि हुन्छन् कहिलेकाहीँ अन्तरविरोधी पनि हुन्छन् । हामी अन्तरसम्बन्धीत छौं । हाम्रो यो सरकारलाई समर्थन छ । सरकारले गरेका राम्रा कामहरुलाई बोकेर हामी सधंै तयार हुन्छौं । तर, सरकारले गलत गर्यो, गलत निर्यण लिन थाल्यो, अनि राष्ट्र राष्ट्रियता जनसेवाजस्ता कुरामा चुक्यो भने त्यसलाई सच्याउने र आलोचना गर्ने पनि हाम्रो अधिकार रहन्छ ।

सरकारमा सहभागी दल तपाईंहरुको भातृ संगठनले मोदीको पुत्लादहन गर्दा त्यसलाई तपाईंहरुले समर्थन गर्नुभएको हो ?

यो एउटा स्वतन्त्र ढंगले संगठित एउटा भातृसंगठन हो । अनेरास्ववियु अथवा युवा संघलाई आफ्ना गतिबिधी सञ्चालन गर्ने अधिकार रहेको छ । हाम्रो मुल नीतिभन्दा टाढा रहेर उसले गतिबिधी गर्दैन । आफ्ना असहमतिहरु राख्छ । समाजका कुनैपनि संस्थाले आफ्ना असहमतिहरु राख्छन् । यो कुरालाई अन्यथा मान्नुहुदैन् । ७० वर्ष लामो इतिहासमा यस्तो धेरै पटक भएको छ ।

त्यसोभए भारतको विरोध गर्नु ठिक छ ?

यसलाई भारतको विरोध गरेको नभनौं । त्यहाँको सरकारले गरेका क्रियाकलापहरु जो नेपालीहरुको हीतमा भएन, नेपालको राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता आदिको बारेमा समस्या पैदा गर्न लाग्यो । हाम्रो आवाज सुनेनन् र मान्छेले केही कुरा बोल्यो भने यो कुरालाई अन्यथा मान्नुहुँदैन । सरकार सक्रिय हुनुपर्यो, पार्टी सक्रिय हुनुपर्यो र जनताको आवाज सडकमा आयो यसलाई सम्बोधन गर्ने काम सरकारको हो ।

प्रधानमन्त्रीले एमसीसी पास गर्नको लागि संसद्मा प्रस्ताव ल्याइसक्नुभयो, यसमा तपाईंको पार्टीको भूमिका के हुन्छ ?

प्रधानमन्त्रीको निजी विचार होला । त्यो कुरामा राजनीतिक दलहरुको सहमति भएको छैन् । हाम्रो पार्टीको कुरा गर्नुहुन्छ भने कमरेड झलनाथ खनालको नेतृत्वमा नेकपाकालमा नै एउटा प्रतिवेदन तयार पारेका छौं । हाम्रो आधारभुत मान्यता त्यही प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यहाँ रहेका नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि खलल पुर्याउने केही बुंदा सच्याउँदामात्र एमसीसी अगाडी बढ्न सक्छ भन्ने हाम्रो सुझाब छ । त्यो प्रतिवेदनलाई पुनः सार्वजनिक गरिदिनुहुन म अनुरोध गर्दछु ।

यथास्थितिमा संसद्मा एमसीसी गर्यो भने तपाईहरुले समर्थन गर्नुहुँदैन त ?

यथास्थितिमा संसद्मा यो पेश हुन्छ भन्नेमा मलाई विश्वास छैन् । आयो भने हाम्रो पार्टीले निर्णय गर्छ ।

file photo/ReportersNepal

 

 



प्रतिक्रिया दिनुहोस्