Logo

आज कुशे औंशी, घर घरमा कुश भित्र्याउने



काठमाडौं, २२ भदौ । आज कुशे औंशी । हिन्दू धर्मावलम्वीहरु आज देव कार्य र पितृ कार्यका लागि अत्यावश्यक वनस्पति कुश काटेर घर घरमा भित्र्याउने गर्दछन् । वैदिक मन्त्रोच्चारणसहित उखेलिएको कुश पुरोहितहरुले यजमानका घरमा पुर्याईदिने चलन पनि रहेको छ ।

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात्ः नुहाउँदा, जप स्नान गर्दा, दान गर्दा, पाठ–पूजा, पितृ कार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दू धर्मावलम्बीहरूले महत्वका साथ हेर्दछन् । वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक महत्वको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्व पनि प्रमाणित भइसकेको छ ।

वैज्ञानिक भाषामा भ्चबनचयकतष्क अथलयकगचयष्मभक भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट विभिन्न प्रकारका औषधी पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्ययनरत शिष्यशिष्याहरूको परीक्षा लिने क्रममा कुशको धारिलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो । यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्थ्यो, उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुवैमा अनिवार्य वनस्पति हो ।

आज उखेलिएको कुश वर्षदिन प्रयोग गर्न मिल्दछ भने अन्य दिन उखेलिएको कुश सोही दिन मात्रै प्रयोग गर्न सकिने शास्त्रीय मान्यता छ । पितृ औंशी पनि भनिने यस दिनमा बुवाको मुख हेर्ने तथा दिवंगत पितृहरुलाई तर्पण दिएर पनि यो पर्व मनाईदै छ ।

आज पितालाई आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिने र टाढा टाढा भएका सन्तानहरु पनि पितालाई भेट्न जाने चलन रहेको छ । पिता नहुनेहरुले उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्र्र्णेश्वरमा गई श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।

काठमाडौंको गोकर्णेश्वर, नुवाकोटको बेत्रावतीलगायत पवित्र तीर्थस्थलमा श्राद्ध गर्ने गरिन्छ । यसो गर्दा घर, मावली र ससुराली तर्फका तीन/तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले भाद्र कृष्ण औंशीलाई ‘गोकर्ण औँशी’ पनि भनिन्छ । file photo

 



प्रतिक्रिया दिनुहोस्