Logo

एमसीसीबाट नेपाललाई केही घाटा छैनः डा. पोखरेल



काठमाडौं, भदौ २२ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले एमसीसीबाट नेपाललाई केही घाटा नहुने बताएका छन् । नेपालले आयोजना समयमै सम्पन्न गर्ने व्यवस्थापकीय ज्ञान र क्षमता बढाउनका लागि एमसीसी महत्त्वपूर्ण हुने उनको विश्लेषण छ ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पोखरेलले भने, “एमसीसीबारे केही व्यक्ति र समूहले अनेक आशंका र भ्रम सिर्जना गरेका छन् । सरकारले त्यसर्री चित्त नबुझेका ११ वटा प्रश्न अमेरिकी सरकारलाई पठाएको छ । अर्को अर्थ लगाइएका बुँदाको थप व्याख्या गरेर स्पष्टीकरण दिनेछ । एमसीसी उपाध्यक्ष आएका बेला माइन्युट अफ मिटिङ गरेर एमसीसीलाई अघि बढाउनुपर्छ । एमसीसीबाट नेपाललाई केही घाटा छैन ।”
डा. पोखरेलले एमसीसी देश कंगाल भएर या पैसा नभएर ल्याउन लागेको नभई व्यवस्थापकीय ज्ञान सिक्ने र क्षमता विकास गर्ने सिक्ने महत्त्वपूर्ण अवसर हुने बताए । सरकारी आयोजनाहरु समयमै सम्पन्न नहुँदा महँगो बन्न गएर जनतामा भार बढेको उनले औंल्याए । उनले थपे, “सरकारी आयोजना भनेका जनताको करबाट बन्ने हुन् । सरकारी आयोजनाको कुरा गर्दा हिजो माथिल्लो तामाकोसी ३५ अर्बको थियो, अहिले ९० अर्ब पुगिसक्यो, कहिले सम्पन्न हुने हो ठेगान छैन । मेलम्चीको लागत कहाँबाट कहाँ पुगिसक्यो । सरकारी आयोजना महँगो हुनु भनेको जनताले सेवाशुल्क तिर्ने हो ।”
जलविद्युत् आयोजनाका कुरा गर्दा खिम्ती र भोटेकोसीबाट नेपालले पाठ सिक्नुपर्ने उनले औंल्याए । उनले भने, “हो खिम्ती र भोटेकोसी आयोजना महँगो भए, धेरै पैसा उनीहरुले नै लगे तर प्रविधि र ज्ञानसीप हस्तान्तरण भएकाले सय मेगावाटभन्दा साना आयोजना आज नेपालकै जनशक्ति र निर्माण व्यवसायीबाट भइरहेको छ । हामीले बाहिरबाट लगानी ल्याउनुपरको छैन । धेरै जलविद्युत् आयोजना हामी आफैंले सञ्चालन गरेका छौं । नर्वेजियन र अमेरिकनबाट हामीले केही त पक्कै सिक्यौं ।”

उनले एमसीसी नेपालको हितमा रहेको दोहोर्याए । उनले थपे, “एमसीसी परियोजना नेपाल सरकारले नै चलाउने हो, नेपालले नै खर्च गर्ने हो, पाँच वर्षभित्र खर्च गर्न नसके उसैले फिर्ता लाने हो । त्यसको अर्थ के हो भने आयोजना समयमै सम्पन्न गर्नुपर्छ । त्यसैले यो नेपालको हितमा छैन भन्नुको अर्थ छैन । लोकतन्त्रमा छलफल र बहस हुन्छ । यसमा सरकारले जनतालाई ढुक्क बनाउनुपर्छ ।”

https://youtu.be/kz9P0zTCStk



प्रतिक्रिया दिनुहोस्