Logo

जाँदाजाँदै प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पत्ति कति



काठमाडौं, २२ भाद्र। प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । उनले अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

प्रधानसेनापति थापाको स्थायी घर लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक हा े । उनको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८–३–२ जग्गा पैत्रिक तथा बूढानीलकण्ठमा आफ्नो र श्रीमती दीपाको संयुक्त नाममा निर्माणाधीन घरसहितको २४१६.५२ वर्गमिटर अर्थात् पौने ५ रोपनी रोपनी जग्गा रहेको छ ।

लम्जुङ बेँसीशहर–२ मा अंशवण्डावापत प्राप्त १२–०–२–२ क्षेत्रफल जग्गा, काठमाडौँ महानगरपालिका–२६ मा श्रीमतीलाई माइतीबाट प्राप्त दाइजो ०–२–०–२ जग्गा, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–२ मा श्रीमती र आफ्नो संयुक्त नाममा शान्ति सेनाका कमाई आदिबाट खरिद गरिएको ४१६४।५७ वर्गमिटर जग्गा तथा छोरी रुरु थापाको नाममा बेँसीशहर नपा–२ पैत्रिक १–०–१–३ क्षेत्रफल जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । बूढानीलकण्ठमा रहेको जग्गामध्ये करिब ७०० वर्गमिटर अर्थात् डेढ रोपनी जग्गा बिक्री प्रक्रियामा रहेको जानकारी दिइएको छ ।

थापा दम्पतीसँग पैत्रिक, खरिद र बुहारीबाट प्राप्तसमेत ६१ तोला सुन, ६८० तोला चाँदी र रु १४ लाखमा खरिद गरिएकोसमेत औठीसहित हीराको हार छ । घरभाडा, शान्ति सेना र सरकारी तलबभत्तासमेत गरी मेगा बैंकमा रु एक लाख ३५ हजार ७७२, ग्लोबल आइएमई बैंकमा रु ९९ हजार ३३, नेपाल इन्भेष्टमेन्ट बैंकमा रु २० लाख २२ हजार ३८१ र अमेरिकी डलर छ हजार ७० रहेको छ ।

प्रधानसेनापति थापा र पत्नी दीपासँग तलबभत्ता र विविध आयबाट खरिद गरिएको विभिन्न बैंक र हाइड्रोका समेत गरी १४ वटा कम्पनीका करिब रु ४६ लाख मूल्य बराबरका २० हजार ४४१ सेयर रहेको सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख छ । उनीहरुले नेपाल बैंकबाट रु एक करोड ९० लाख ऋण लिएको तथा छोरा रौनकले लक्ष्मी बैंकबाट अटोलोन रु ३० लाख ऋण लिएकामा रु १२ लाख २४ हजार तिर्न बाँकी रहेको देखाइएको छ ।
श्रीमती दीपाको रु २० लाख र छोरा रौनकको रु ५१ लाख मूल्यमा खरिद गरिएका एक–एक थान सवारी साधन रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानसेनापति थापाको अवकाशपछि कर्मचारी सञ्चयकोषबाट रु ३५ लाख ३७ हजार ६२८, नागरिक लगानी कोषबाट रु १४ लाख ६६ हजार ३१३, सञ्चित बिदा र औषधोपचारवापत प्राप्त हुने सञ्चित मौज्दात रु २५ लाख ९० हजार ७३२ तथा आवास र बिमावापत रु चार लाख ९७ हजार २७४ बचत मौज्दात अवकाश हुने मितिका हिसाबले प्राप्त हुने जानकारी दिइएको छ ।

उनले सेनाको नेतृत्व सम्हालेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । महारथी थापा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो सैनिक हुनुहुन्छ । तीनवर्षे प्रधानसेनापतिको कार्यकालसहित ४१ वर्ष आठ महिना २२ दिनको सैनिक जीवन व्यतित गरी आउँदो बिहीबार सेवानिवृत्त हुँदै गर्दा उनले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्